कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको छौँ : कृषि मन्त्री पन्थी



कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको छौँ : कृषि मन्त्री पन्थी

देउखुरी २३ असार । लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको बताएका छन् । लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा आज सोमबार दाङ–देउखुरीको लमहीमा आयोजित सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले यस्तो बताएका हुन् ।

मन्त्री पन्थी किसानलाई आत्मनिर्भर बनाउन र आम्दानीको बाटो खोल्न विशेष कार्यक्रम सञ्चालनका लागि काम भइरहेको बताए । उनले भने “कृषिमा देखा परेका समस्याहरूको समाधान खोज्न मन्त्रालय जुटिरहेको छ। पछिल्ला वर्षहरूमा खेतबारीमा उत्पादन घटेको छ, यसप्रति पत्रकारले पनि जनताको आवाज उठाउनुपर्छ।” मन्त्री पन्थीले “थोरै मानिसले कृषि गरेर आफ्नो परिवार पाल्न र बिक्रीमार्फत आम्दानी गर्न सफल भएका छन्।” प्रदेश सरकारले सात वर्ष यता भएका राम्रा कार्यक्रमको निरन्तरतामा जोड दिएको र स्रोत अभावका कारण केही कार्यक्रम अघि बढ्न नसकेको बताए ।

“राम्रा कामलाई प्रोत्साहन र असफल कामलाई निरुत्साहित गर्न मन्त्रालय लागिपरेको छ,” मन्त्री पन्थीको भनाइ थियो। उनले माटोको उपचार सम्बन्धी काम सुरु गरिएको पनि जानकारी दिनुभयो। साथै उहाँले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भने, “कृषिमा भएका कामबारे खोजी गरौँ, सुझाव दिऊँ – मन्त्रालय तयार छ सुन्न र सुधार गर्न तयार छ, उनले भने ।

कृषि मन्त्रालयका सचिव यामनारायण देवकोटाको अध्यक्षता एवम् कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले विषय प्रवेश गराईएकी थिइन् । सो क्रममा मन्त्रालय बाली संरक्षण निर्देशक घनश्याम चौधरीले लुम्बिनी प्रदेशको कृषि क्षेत्रको वर्तमान अवस्था बारेमा जानकारी दिएका थिए । उनले चालू आर्थिक बर्षको उपलब्धी र आगामी बर्षको कार्यक्रमका बिषयमा समेत प्रकाश पारे । कार्यक्रमको सञ्चालन सञ्चारिका समूह लुम्बिनी प्रदेशकी कार्यक्रम संयोजक उषाकिरण पन्थले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे