विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरि शिक्षक कडेलले मनाए ३३ औँ जन्मोत्सव
भालुवाङ २२ असार । दाङ देउखुरीका एक शिक्षकले जन्मदिनको अवसरलाई समाजसेवामूलक कार्यमा रुपान्तरण गर्दै उदाहरणीय काम गरेका छन् ।
राप्ती गाउँपालिका–१ पाखापानी निवासी तथा आदर्श नमुना माध्यमिक विद्यालयका शिक्षक छबिलाल कडेलले आफ्नो ३३ औँ जन्मदिनमा विद्यालयका शिशु कक्षामा अध्ययनरत २८ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गर्दै जन्मोत्सव मनाएका हुन् । उहाँले बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जन्मदिनको खर्च कटौती गरेर सामग्री वितरण गर्नु भएको हो । साथै, उनले राप्ती गाउँपालिका–८ मिलन डाँडामा रहेको निलसागर सेवाश्रममा नगद २ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् । “जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा बालबालिकालाई स्टेशनरी दिएर खुसी साट्न चाहें,” शिक्षक कडेलले भने, “उनीहरूको अनुहारमा देखिएको मुस्कान नै मेरो लागि साँचो उपहार हो ।”
कापी, पेन्सिल लगायतका सामग्री पाएपछि विद्यार्थीहरू दंग परेका थिए । विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरू र विद्यार्थीहरूले शिक्षक कडेलको यो पहललाई प्रशंसा गरेका छन् । स्थानीय समुदायले समेत कडेलको यस्तो व्यवहारिक र प्रेरणादायी जन्मोत्सव मनाउने शैलीलाई स्वागत गर्दै अन्यलाई पनि यस्ता सकारात्मक कार्यमा सहभागी हुन आह्वान गरेका छन् । शिक्षक कडेलले आगामी दिनमा पनि यस किसिमका सामाजिक तथा मानवीय सेवामूलक गतिविधिलाई निरन्तरता दिने बताए ।

