हरेक व्यक्तिमा सकरात्मक साेचकाे विकास हुन आवश्यक छ : प्रदेशसभा सदस्य गिरी
देउखुरी २१ असार । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा रहेका करिब पाँच सय कानुनी विवादमा परेका बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ।
रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १ सय ४ जना, जयन्दु बाल सुधार गृह बाकेका १ सय ९६ जना, र नौबस्ता बाल सुधार गृहका १ सय ६८ जना बालबालिकाले सहभागिता जनाएका थिए।
रुपन्देही बाल सुधार गृहमा आयोजित कार्यक्रममा निमित्त कार्यालय प्रमुख बोधराज आचार्यको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कार्यक्रम सम्पन्न भएकाे हाे ।
साे अवसरमा प्रदेश सभा सदस्य गिरीले बालबालिकाहरुलाई सकारात्मक सोच र जीवन परिवर्तनको आधारभूत सूत्रहरूबारे प्रशिक्षण दिएकी थिइन।
तपाईं आफ्नो जिवनको खराब समय चलेको बेला कानुनी बिबादमा पर्नु भयो सधै तपाईंको जिवनमा खराब समय चल्दैन, यहाँको बसाईलाई जिवन उपयोगी समयमा बदल्नुस, आफ्नो मुद्दा हेरेको वकिल कुन हो ? मुद्दा कहाँ पुगेको छ त्यसको बिषयमा चासो राख्नुस। “सबैको जिवनमा एक समय उज्यालो आउँछ र संगै अँध्यारो पनि रहन्छ” सांसद गिरीले भनिन् ।
सांसद गिरीको पहलमा लुम्बिनीमा हालसम्म तीन वटा बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भइसकेको छ। पुस्तकालय स्थापना र तालिममार्फत सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिइएको सांसद गिरीले बताईन।
लुम्बिनी प्रदेशले आउँदो बजेटमा सुधार गृह तथा कारागारमा रहेका ब्यक्तिहरुलाई मागमा आधारित तालिम सन्चालन गर्ने गरी बजेट बिनियोजन गरिएको र आगामी दिनमा अझै धेरै सुधार गृह र बाल आश्रमहरूमा सिपयुक्त कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी बालबालिकाले पुस्तक पढ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए। सकारात्मक सोचको तालिमले आफूहरूमा जीवनप्रति नयाँ आशा जागेको उनीहरूको भनाई थियो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका भूपबहादुर मल्लकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटा लगायतकाे उपस्थित रहेकाे थियाे। कार्यक्रमको सञ्चालन गंगाधर पाण्डेले गरेका थिए।

