दाङमा विपद्जन्य घटनाको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह



दाङमा विपद्जन्य घटनाको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह

दाङ १६ असार । मनसुन सक्रिय भएसँगै दाङ जिल्लामा बाढी, पहिरो, चट्याङ र नदी कटानजस्ता विपद्जन्य घटनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।

मौसम विज्ञान विभागले दाङ वरपर भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला विपद् व्यवस्थापन समितिले आइतबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै सबै तहका सरकारी, गैरसरकारी तथा राजनीतिक निकायलाई तयारी अवस्थामा रहन भनेको छ। जिल्ला प्रशासनका अनुसार विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ। “स्थानीय तहहरुले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार समुदाय स्तरमै कार्य थाल्नुपर्ने आवश्यकता छ,“ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

प्रशासनले स्थानीय सुरक्षा निकायलाई समेत प्रतिकार्य टोली तयार राख्न र समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएको छ। त्यस्तै, रेडक्रस, नागरिक समाज, सरोकारवाला निकाय लगायत सबै पक्षलाई विपद्‌ व्यवस्थापनमा सक्रिय संलग्नता जनाउन अपिल गरिएको छ। विपद्‍को बेला उद्धार तथा राहत कार्य प्रभावकारी बनाउने उद्देश्यले सबै निकायबीच साधन स्रोतको समन्वय आवश्यक रहेको सूचनामा उल्लेख छ । प्रशासनले आम सञ्चार माध्यमहरुलाई पनि विपद्सम्बन्धी सूचना प्रसारप्रति सजग रहन आग्रह गर्दै विपद्जन्य घटनाको जानकारी तत्काल सम्बन्धित निकायमा दिन नागरिकहरुलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे