कपुरकोट-तुलसीपुर जोड्ने बैकल्पिक मोटरबाटो निर्माण



कपुरकोट-तुलसीपुर जोड्ने बैकल्पिक मोटरबाटो निर्माण

सल्यान १५ पुस । दाङ तुलसीपुर उपमहानगरपालिका ३ सातबास सम्म जोड्ने लक्ष्य सहित सल्यानको कपुरकोट गाउँपालिकाले मोटरबाटो निर्माण गरेको छ । कपुरकोट पाखापानी हुँदै धैरेनी देखी सातबाट सम्म मोटरबाटो पुग्न अव केही मिटर मात्रै बाँकी रहेको छ । पाखापानी धैरेनी खारखोला मोटरबाटोको बुधबार कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले अनुगमन गरेका छन् ।

मोटरबाटो निर्माण भएसंगै लामिडाँडा, पाखापानी, गाँडापानी, धनवाङ लगाएतका क्षेत्रका किसानहरुलाई उत्पादित कृषीजन्य वस्तु बजार तथा आफ्नो घर सम्म ल्याउनका लागि निकै सहज भएको छ । कपुरकोट ४ गाँडापानी निवासी गोविन्द विकले धैरेनी क्षेत्रमा रहेको आफ्नो खेत सम्म गाउँपालिकाले मोटरबाटो पुर्याइदिएको भन्दै खुसी ब्यक्त गरे । उनले भने, ‘यती छिट्टै यहाँ मोटरबाटो आइपुग्ला भन्ने सोँचेका थिएनौँ, तर गाउँपालिकाले बाटो ल्याइदियो । सातबास सम्म मोटरबाटो जोडियो भने दाङको तुलसिपुर जान पनि अव निकै सहज हुने भयो ।’ यस्तै कपुरकोट ३ धैरेनी निवासी ८९ वर्षिय केवल बोहोराले आफ्नो बस्ती सम्म मोटरबाटो आउला भन्ने कल्पना समेत नगरेको भन्दै बुढेसकालमा घर नजीकै बाटो आएकोमा खुसी ब्यक्त गरे ।

कपुरकोट गाउँपालिकाको ७ लाख रुपैयाँको लगानीमा मोटरबाटो निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हुकुम बुढाथोकीले बताए । दाङको सिमाना सम्म जोड्न अव २ सय मिटर जती मात्रै बाँकी रहेको उनको भनाइ छ । सुख्खायामको समयमा पनि तरकारी तथा फलफुल राम्रो फल्ने धैरेनी क्षेत्रका किसानलाई मोटरबाटोको् पहुँचमा पुगेपछी धेरै सम्भावनाहरु खुलेर गएको निर्माण उपभोक्ता समितीका कोषाध्यक्ष ससिला बुढाथोकीले बताइन् । कपुरकोट ४ को किमुचौर हुँदै लामिडाँडाबाट पनि सातबासको नजीकै मोटरबाटो पुर्याइएको छ । गाउँपालिकाले लामिडाँडाबाट सातबास सम्म सडक निर्माणका लागि यस वर्ष मात्रै १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

मोटरबाटो अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले अव मोटरबाटो संगै क्रमिक रुपमा विद्युत विस्तार, सिंचाइको लागि कुलोको ब्यवस्थापन पनि गरिने जनाए । उनले बुधबार नै कपुरकोट ३ पाखापानीमा निर्माणाधीन अवस्थामा रहेका गाउँघर क्लिनिक र खानेपानी टंकीको पनि अवलोकन गरेका छन् । गाउँपालिकाको ४ लाख रुपैयाँ अनुदानमा गाउँघर क्लिनिक र ३ लाख रुपैयाँ अनुदान सहयोगमा टंकी निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे