दाङका १० पालिकाले ल्याए बजेट : सबै भन्दा धेरै घाेराही र सबै भन्दा कम बजेट दंगीशरणमा



दाङका १० पालिकाले ल्याए बजेट : सबै भन्दा धेरै घाेराही र सबै भन्दा कम बजेट दंगीशरणमा

भालुवाङ १० असार । दाङका १० वटा पालिकाले  मंगलवार  बजेट सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ का लागि राप्ती गाउँपालिका सहित दाङका १० वटै पालिकाले बजेट ल्याएका हुन् । यस आर्थिक वर्षका लागि  सबै भन्दा धेरै बजेट घोराही उपमहानगरपालिकाले ल्याएको छ भने सबै भन्दा कम बजेट दंगीशरण गाउँपालिकाले ल्याएकाे छ ।

अधिकांश पालिकाहरूले चालु खर्चमा बढी बजेट विनियोजन गरेका छन् भने केही पालिकाहरूले गत वर्षको तुलनामा बजेट घटाएर ल्याएका छन् । सबै भन्दा धेरै बजेट ल्याएकाे  घोराही उपमहानगरपालिकाले २ अर्ब २९ करोड २९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ भने सबै भन्दा कम बजेट ल्याएकाे दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएकाे छ । संघीय सरकारबाट ३७ करोड ८२ लाख र प्रदेश सरकारबाट ३ करोड ९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोड ६६ लाख ९३ हजार ८५५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले चालु खर्चतर्फ ६५.०८ प्रतिशत अर्थात् १ अर्ब ३४ करोड ५१ लाख र पुँजीगततर्फ ३२.९० प्रतिशत अर्थात् ६७ करोड ९९ लाख ९३ हजार ८५५ रुपैयाँ विनियोजन गरेको हो ।

लमही नगरपालिकाले ८८ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाख ३१ हजार ५२४ रुपैयाँको बजेट ल्याएकाे छ। राप्ती गाउँपालिकाको बजेट गत वर्षभन्दा ५ करोडले कम छ । गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख ९४ हजार,  बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । चालुतर्फ ३९ करोड २६ लाख (६२.६५%) र पुँजीगततर्फ २३ करोड ४० लाख (३७.३५%) विनियोजन गरिएको हो । गाउँपालिकाले संघीय सरकारबाट ४२ करोड ९ लाख, प्रदेश सरकारबाट २ करोड ५१ लाख र आन्तरिक स्रोतबाट १ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेको छ ।

राजपुर गाउँपालिकाले ६० करोड २४ लाख ६५ हजार ८०४ रुपैयाँ,  शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाख र बबई गाउँपालिकाले ५० करोड ५१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । दाङका अधिकांश पालिकाले सामाजिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै चालु खर्चतर्फ बढी बजेट विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे