राप्ती नदीमा आएको बाढीले चन्दनपुर गाउँ डुबानमा परेपछि…..



राप्ती नदीमा आएको बाढीले चन्दनपुर गाउँ डुबानमा परेपछि…..

देउखुरी २३ जेठ । असार २३ गते शुक्रवार विहान करिव ९ बजेको थियो । गढवा गाउँपालिकाको चन्दनपुर गाउँ नजिक राप्ती नदीमा बाढी आएको खबर आयो । स्थानीयवासी ‘नदीमा बाढी आयो, मान्छे बगायो’ भनेर हो–हल्ला गर्दै थिए । बाढी पूर्वसूचनाको साइरन पनि बजिरहेको थियो ।

राप्तीमा बाढी बढिरहेको थियो । बाढीले घरहरु डुबाउँनै लागेको थियो । स्थानीयवासी बाढी आयो मान्छे बगायो भन्दै चिच्चाउँदै थिए । त्यसैबेला उद्धारका लागि तयार रहेका सुरक्षाकर्मीको टोली जिल्लाका विभिन्न स्थानबाट राप्ती नदी छेउको चन्दनपुर गाउँमा पुग्यो । सुरक्षाकर्मीले रबर बोटमा हावा हाल्ने काम सुरु गरिरहेका थिए । सुरक्षाकर्मी, प्रशासन सहितको टोली सँगै स्थानीयवासी पनि जम्मा भए । बाढीले जनधनको क्षति नहोस, तत्काल उद्धार गर्न सकियोस् भनेर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गोताखोरको टोली र रेडक्रस सहितको संयुक्त उद्धार टोली रबर बोट सहित नदी किनारमा उभियो ।  लाइफ ज्याकेट लगाएर उद्धारका लागि राप्ती नदी किनारमा पुगेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसका उद्धार टोली तयारी अवस्थामा रहँदा नदीको किनारमा १ जना बगिरेहको दृश्य देखियो । बग्दै गरेका उनीहरु नदीको बीच भागमा पुगे । ठूलो बाढीमा १ जना बगेको देख्दा एकछिन सबै डराए र आत्तिए । त्यसपछि उद्धारका लागि निर्देशन गोताखोरको टोली नदीमा पस्यो । राप्ती नदीमा बगिरहेका मध्ये एक जनाको १० मिनेट भित्रै उद्धार भयो ।

अर्का एक जनालाई पनि नेपाली सेनाको टोलीले १० मिनेटमै उद्धार ग¥यो । त्यसपछि उनीहरुलाई नदीको किनारमा ल्याइयो र किनारमै रहेका रेडक्रसको टोलीले उनीहरुलाई प्राथमिक उपचार गरे । थप उपचारका लागि एम्बुलेन्समा राखेर एक जनालाई अस्पताल पठाइयो । एकैछिन पछि फेरि दुई जना बगिरहेको देखेपछि सेना र सशस्त्र प्रहरीको टोली रबर बोट लिएर राप्ती नदीमा गयो । सेना र सशस्त्रको टोली बगिरहेकालाई उद्धार गर्न नदीमा हाम फाल्यो । एक जनालाई सकुशल उद्धार गरे । अर्का एक जनालाई उद्धार गर्दागर्दै उद्धार टोलीका एक जना पानीमा डुबेर घाइते भए । नदीबाट उद्धार गरिएका पाँचै जनालाई रेडक्रसले प्राथमिक उपचार गरेपछि तीन जनालाई घर पठायो । बाँकी दुई जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइयो ।

राप्ती नदीमा बाढी आउँदै गर्दा उनीहरुमध्ये दुई जना नदी किनारमा माछा मारिरहेका थिए र नदीमा बगेका काठ दाउरा निकाल्दै गर्दा बगेका थिए । अरु दुई जना नदी किनारमा घर भएको हुँदा बाढीका कारण बगेका थिए, उनीहरुको नाम र ठेगाना पहिचान गरियो । नदी किनार गाउँका स्थानीयवासी नदीमा बाढी आयो, बचाऊ–बचाऊ, मान्छे बगायो भनेर चिच्चाइरहेका पनि थिए । यो सबै दृश्य वास्तविक नभई काल्पनिक थियो । नदीमा बगेका उनीहरु सबै नदी किनारमा पहिले देखि नै उभिएका थिए, उनीहरु सशस्त्र प्रहरीमा र नेपाली सेनामा जागिरे थिए । उनीहरु आफैँ नदीमा हाम फालेका थिए र बगेको देखेपछि सुरक्षाकर्मी उद्धारमा खटिएका हुन् । बाढीमा फसेकालाई उद्धार कसरी गर्ने भनेर पहिले देखि नै सुरक्षाकर्मीका लागि अभ्यास गर्न योजना बनाइएको थियो ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा शहरी विपद् तथा भुकम्पीय जोखिम पुर्व तयारी परियोजना अन्तरगतनेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्धारा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रम अन्तरगत बाढीको कृत्रिम घटना अभ्यास गरेका हुन् । बाढीका बेला हुन सक्ने मानवीय र भौतिक क्षति, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हरेक वर्ष झैँ यस वर्ष पनि राप्ती नदीमा कृत्रिम घटना अभ्यास आयोजना गरिएको हो । लमही नगरपालिकाकोे ढिकपुर स्थित राप्ती नदीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सहितको सहभागितामा बाढीको कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको थियो । हरेक वर्ष राप्ती नदीमा आउने बाढीबाट अति जोखिममा रहेको लमही र गढवा क्षेत्रमा कृत्रिम अभ्यासले गर्दा प्रहरी प्रशासनलाई यस क्षेत्रको वास्तविकता थाहा हुने र यस क्षेत्रका स्थानीयवासीलाई सजग हुन महत्वपूर्ण सन्देश जाने लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बताए ।

मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान
यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गर्नु भएको छ । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन । त्यसैले हामी जहिल्यै पनि तयारी अवस्थामा रहनु पर्छ,झ मुख्यमन्त्री आचार्यले भने, अहिले गरिने पूर्वतयारीले विपद्बाट हुने क्षतिलाई घटाउँछ । मानिसलाई नयाँ जीवन दिन सघाउँछ । उहाँले विपद् प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि चाहिने सामग्रीको अभाव हुन नदिन सरकारले ध्यान दिने स्पष्ट पार्नुभयो । स्थानीय स्रोत साधनको उपयोग गर्दै आधुनिक उपकरण र सामग्री व्यवस्थापनमा सरकार गम्भीर रहेको, तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धारका सामग्री उपलब्ध गराइने जानकारी पनि दिए ।

साथै, उनले स्थानीय तह र समुदायसँगको सहकार्यबाट विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने भएकाले समुदायको सक्रिय परिचालनमा विशेष ध्यान दिइने बताए । यस वर्ष लुम्बिनी प्रदेश मनसुनजन्य विपद्बाट बढी प्रभावित हुने प्रक्षेपण गरिएको भन्दै प्रदेश सरकारले तयारीलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै असर पर्ने देखिएको छ । अनुमान अनुसार लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने सम्भावना छ । गत १० वर्षको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद्का १ हजार ६ सय १८ वटा घटना घटेका छन् । ती घटनामा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते र ३२ जना बेपत्ता भएका छन् भने ८ हजार ३१५ परिवार प्रभावित भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार सबैभन्दा धेरै घटना ०८० सालमा २९२ वटा र सबैभन्दा बढी मानवीय क्षति २०७३ सालमा १०७ जनाको मृत्यु भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो र भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, ९ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । त्यसवेला करिब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपद् प्रतिकार्यमा तीनवटै सुरक्षा निकायको साथ र सहयोगले क्षति न्यूनीकरण गर्न टेवा पुगेको बताउनुभयो । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘हातेमालो–७’ एकीकृत अभ्यास गर्दै विपद्को बेलाको अवस्था अनुसार खोज तथा उद्धार कार्यमा देखिने व्यवहारिक पक्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी प्रेमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, रेडक्रसकर्मी, विद्यार्थी, शिक्षक तथा समुदायका नागरिकहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सुरक्षाकर्मी तथा रेडक्रसले खोज तथा उद्धार, प्राथमिक उपचारमा प्रयोग हुने सामग्रीको प्रदर्शनीसहित प्रयोगको विधिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे