सवारीसाधनमा डस्टबिन राखौं, सफा र सुरक्षित यात्रा गरौं : आशाका किरण संस्थाको सरसफाइ सन्देश
भालुवाङ १७ जेठ । “सफा सवारी, स्वस्थ यात्रा” भन्ने अभियानलाई मूर्तरूप दिन दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सार्वजनिक यातायातका सवारीसाधनमा डस्टबिन राख्न पहल थालेको छ।
सो अभियान अन्तर्गत संस्थाले चालक, सहचालक र यात्रुलाई सवारीसाधनभित्र डस्टबिनको प्रयोगबारे जानकारी दिँदै स्वच्छता सम्बन्धी सचेतना फैलाउँदै आएको छ। राप्ती गाउँपालिकाको सहयोगमा संस्थाले गत जेठ गते देखि सुरू गरेको सरसफाई सचेतना अभियानका क्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूले लमही-भालुवाङ सडक खण्डमा गुड्ने सार्वजनिक बस, माइक्रो, टेक्सी, टेम्पो लगायतका सवारीसाधनमा डस्टबिन राखिएको निरीक्षण गर्दै आएका छन् । साथै, फोहोर जथाभावी फ्याक्न नहुने, सवारीसाधन भित्र सफा वातावरण कायम राख्नुपर्ने सन्देश सहित चालक, सहचालक र यात्रुहरू सम्झाउने काम गरिरहेका छन् ।
संस्थाका अध्यक्ष अशोक बेल्वासेका अनुसार, “सार्वजनिक सवारीसाधनहरू दैनिक सयौं यात्रु ओसार्ने माध्यम हुन्। यदि तिनै सवारीसाधन फोहोर र दुर्गन्धयुक्त भए, यात्रुहरूमा नकारात्मक असर पर्न सक्छ। यसैले, डस्टबिन राखेर सवारीसाधनलाई सफा राख्नु सबैको साझा जिम्मेवारी हो। “संस्थाले सवारी चालकहरूलाई डस्टबिनको उचित प्रयोगका लागि प्रोत्साहन गर्दै यात्रुहरूलाई पनि फोहोर नफ्याक्न आग्रह गरिरहेको छ। साथै, यात्राका क्रममा प्रयोग गरिएका चिप्स, बिस्कुटका खोल, पानीको बोतल जस्ता वस्तुहरू डस्टबिनमै हाल्न अनुरोध गरिएको छ।
स्थानीय यातायात व्यवसायीहरू, प्रहरी प्रशासन र यातायात समितिसँग सहकार्य गर्दै आशाका किरण संस्थाले यस अभियानलाई निरन्तरता दिने बताएको छ। सरसफाइप्रतिको यस्तो सानो प्रयासले दीर्घकालीन रूपमा वातावरण संरक्षण र नागरिक संस्कार विकासमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ। स्थानीय बासिन्दा र यात्रुहरूले संस्थाको प्रयासको प्रशंसा गर्दै यस्ता अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने जनाएका छन्।
