देउखुरीमा चोरीको आरोपमा ६ जना पक्राउ : लाखौं मूल्य बराबरको सुनचाँदी र नगद बरामद
भालुवाङ १५ जेठ । दाङकाे देउखुरीबाट प्रहरीले चोरीको आरोपमा ६ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पाँच जना बालबालिका र एक जना सुनचाँदी पसलका सञ्चालक रहेका छन् ।
पक्राउ पर्ने बालबालिका मध्ये ४ जना १४ वर्षका र एक जना १६ वर्षका रहेका छन् । चोरीको सामान किन्ने राहुल सुनचाँदी पसल लमहीका पसल सञ्चालक गुल्मी बलेटक्सार गाउँपालिका–४ घर भई हाल गढवा गाउँपालिका–७ का ३० वर्षका देव बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी कविराज रोकायाले जानकारी दिएका छन् । २०८१ चैत २३ गते राप्ती गाँउपालिका– ७ बड्का सिसहनियाँका तारा गौतमले कोठाको दराज भित्र रहेको काँचो सुन र सुनका गहना गरी अन्दाजी २० तोला सुन, एचपी कम्पनीको एक थान ल्यापटप चोरी भएको भनि प्रहरीमा निवेदन दिएकी थिइन् ।उक्त निवेदनको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा २०८२ जेठ ११ गते ४ जना किशोरी र १ जना किशाेरलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रोकायले जानकारी दिए । सोधपुछमा उनीहरूले चोरी गरेका गहना ‘राहुल सुनचाँदी पसल’मा बिक्री गरेको स्वीकारेको उनले बताए ।
सुनचाँदी पसल खानतलासी गर्दा प्रहरीले ८ तोला १४ लाल ४ प्वाईन्टका बिभिन्न तयारी गर गहनाहरु, २ तोला ६० लाल ८ प्वाइन्ट का पुरना स्वरुप परिवर्तन गर्दै गरेका सुनका टुक्रा तथा कुच्चाएको सुन, २ तोला ४२ लाल तामाको डण्डि सहितको पंचरत्न बाला, ९ तोला ९० लालको ममला र कपडा सहितको सुनको छड्के तिलहरी बरामद गरेको छ । यस्तै भारतीय नोट ५ सयकोे ७५ थान ३७ हजार ५ सय, नेपाली नोट ९० हजार, सुन तौल गर्ने डिजिटल मेशिन एक थान, सुन गलाउने पम्प २ थान फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू माथी थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

