लमही नगरपालिकाको सरकारी गाडी मध्यराती मुसोटमा दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा



लमही नगरपालिकाको सरकारी गाडी मध्यराती मुसोटमा दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा

देउखुरी १० जेष्ठ । दाङको लमही नगरपालिकाको सरकारी गाडी शुक्रबार मध्यराती मुसोटको उकालोमा दुर्घटना भएको छ । राती करिब १२/१ बजेको समयमा लमहीबाट घोराही तर्फ जाँदै गरेको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने बा २ झ ४२०१ नम्बरको कार घोराही उप–महानगरपालिका–३, मुसोटको उकालोमा दुर्घटना भएको हो ।

कार सडक देखि करिब १५ मिटर तल खसेको छ । कारमा चालक सहित तीन जना सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए । दुर्घटनामा परी घाइते हुनेहरूमा कार चालक लमही नगरपालिका–५, बस्ने बर्ष ४२ का मधुसुदन केसी, सोही ठाउँ निवासी बर्ष २३ का अम्मर केसी र राजपुर गाउँपालिका–५, चुङ्गुवा बस्ने बर्ष २७ का मंगलसेन भण्डारी रहेको ट्राफिक प्रहरी प्रमुख बमले बताए । घाइते तीनै जनाको खुट्टामा समान्य चोट लागेको र राती नै लमही अस्पतालमा उपचार पछि घर फर्किएको ट्राफिक प्रहरी प्रमुख बमले बताए । सवार दुई जना व्यक्ति नगरपालिकाका कर्मचारी हुन् या अरू कोही नै हुन् भन्ने बिषय भने प्रहरीले खुलाएको छैन ।

दुर्घटना भएको कार दुर्घटनास्थलबाट निकाली जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आफ्नो नियन्त्रणमा लिएको छ । साथै कार चालकलाई समेत प्रहरीले अहिले आफ्नो नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । चालक केसीलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिई दुर्घटनाको कारण बारे सोधपुछ भईरहेको लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले बताए । चालक घाईते रहेकोले अहिले नै बिषय खुल्न सक्ने अवस्था नरहेको प्रहरी निरीक्षक पाण्डेले बताए । कार अन्यत्रित भई दुर्घटना भएको चालक केसीले प्रारम्भिक सोधपुछका क्रममा प्रहरीलाई बताएको लमही प्रहरीले जनाएको छ । कारमा सवार अन्य दुई जना भने सम्पर्क बिहिनी रहेको र खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा भने कामको शिलशिलामा केहिदिन देखि काठमाडौं रहनु भएको छ । उहाँ जेष्ठ ८ गते बिहिबार काठमाडौं जानू भएको निमित्त प्रशासकीय अधिकृत नारायण शर्माले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए । आज शनिबार बिदा भएकोले सबै जानकारी लिन नसकिएको र भोली आईतबार कार्यालय समयपछि बल्ल यस बिषयमा अध्ययन, सोधपुछपछि मात्र बिस्तृत रूपमा थाहा हुने बताए ।

यता दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई मध्यराती लमही नगरपालिकाको सरकारी गाडीको प्रयोग र दुर्घटनालाई सरकारी गाडीको दुरूपयोग भन्न मिल्छ ? भन्ने प्रश्नमा उहाँले अहिले नै दुरूपयोग भएको भन्न नमिल्ने बताए । नगरपालिकाको सरकारी गाडी मध्यरातमा प्रयोग भएको र दुर्घटनाको बिषयमा अध्ययन भईरहेकोले अनुसन्धानबाट मात्र खुल्ने बताए । उनले यस बिषयमा प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिईसकेको समेत बताए । स्थानीयले भने मध्यराती सरकारी गाडी के काममा प्रयोग हुन्छ ? यो सरकारी सम्पत्तिको दुरूपयोग भएको बताएका छन् । उनीहरूले सरकारी गाडीको दुरुपयोग गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याएर कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे