रोल्पामा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासका लागि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न



रोल्पामा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासका लागि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

रोल्पा १० जेठ ।  रोल्पा नेत्रहीन संघ र अपाङ्ग कल्याण समाज नेपाल, रोल्पाको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासका लागि स्थानीय तहका जनप्रतिनिधि, अपाङ्गता भएका व्यक्ति तथा सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

रोल्पा नगरपालिका–४ टुडीखेल स्थित जिल्ला समन्वय समितिको नयाँ हलमा आयोजित उक्त कार्यक्रम रोल्पा नेत्रहीन सङ्घका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र घर्ती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी पदम डागी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, उनीहरूको लागि बनेका ऐन तथा नियम, अपाङ्गता परिचयपत्रको बारेमा जानकारी, स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूलाई गर्नुपर्ने व्यवहार तथा उनीहरूको पहुँचसम्बन्धी विषयमा विस्तृत अन्तरक्रिया गरिएको थियो। सहजीकरण राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा केन्द्रीय प्रतिनिधि जुमान सिंह केसीले गरेका थिए ।

कार्यक्रम अपाङ्ग कल्याण समाज नेपाल रोल्पाका अध्यक्ष दिनेश आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य रोल्पा नेत्रहीन सङ्घका सचिव शिशिर डागीले राखेका थिए । अन्तरक्रियात्मक कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, जनप्रतिनिधि, पत्रकार, प्रहरी, नागरिक समाजका प्रतिनिधिसहित ३० जना भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी डागीले अपाङ्गतालाई समस्याको रूपमा नभई मानवीय समवेदनाको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। प्रमुख अतिथि नगरप्रमुख सुरेन्द्र घर्तीले अपाङ्गता भएका व्यक्तिहरूको सर्वाङ्गिण विकासका लागि स्थानीय तहले समुचित बजेटको व्यवस्था गर्दै थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे