राप्ती गाउँपालिकाद्वारा राप्ती लघु उद्यमी समूहलाई बेकरी बनाउने प्रविधि हस्तान्तरण
भालुवाङ २ जेठ । दाङको राप्ती गाउँपालिकाले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबार प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाले वडा नम्बर ४ स्थित राप्ती लघु उद्यमी समूहलाई बेकरी बनाउन आवश्यक पर्ने ओभन हस्तान्तरण गरेको हो।
गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी र प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले समूहकी अध्यक्ष निर्मला चौधरीलाई करिब एक लाख रुपैयाँ मूल्य बराबरको ओभन हस्तान्तरण गरे । उक्त समूहले गत वर्ष गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत बेकरी सम्बन्धी सीप विकास तालिम प्राप्त गरेको थियो र हाल बेकरी उत्पादन गर्दै आएको उद्यम विकास सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन् । प्रविधि हस्तान्तरणसँगै उत्पादन प्रक्रिया थप आधुनिक र व्यवस्थित बन्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना हुने र आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र सीपको उपयोग गरी उद्यमशीलता प्रवद्र्धन गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको बतfएका छन् । उनले यस्ता कार्यक्रमले समुदायलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्याउने विश्वास व्यक्त गरे। समूहकी अध्यक्ष निर्मला चौधरीले गाउँपालिकाको सहयोगले उद्यम सञ्चालनमा हौसला मिलेको बताउँदै आगामी दिनमा उत्पादन वृद्धि र बजार विस्तारमा ध्यान केन्द्रित गरिने बताए।

