राप्ती गाउँपालिकामा बङ्गुर पालनको असल अभ्यास प्रवर्द्धन कार्यक्रमको स्थलगत अनुगमन



राप्ती गाउँपालिकामा बङ्गुर पालनको असल अभ्यास प्रवर्द्धन कार्यक्रमको स्थलगत अनुगमन

भालुवाङ २ जेठ । दाङको राप्ती गाउँपालिकाका विभिन्न वडामा रहेका बङ्गुर फार्महरूको बिहीबार स्थलगत अनुगमन गरिएको छ।

संघीय सरकारकाे शसर्त अनुदान अन्तर्गत सञ्चालनमा आएको बङ्गुर पालन असल अभ्यास प्रवर्द्धन कार्यक्रम अन्तर्गत उक्त फार्महरूको अनुगमन गरिएको हो। अनुगमन टोलीले वडा नं. ५ र ६ मा सञ्चालनमा रहेका फार्महरूमा पुगेर पशुपालन अभ्यास, पूर्वाधार र व्यवस्थापनका विविध पक्षको अनुगमन गरेको हो। टोलीले उज्यालो र हावाको राम्रो प्रवाह हुने संरचना, मानिस र पशु बसोबास गर्ने भवनको उचित दूरी, पिउने पानीको नियमित आपूर्ति, घाँस उत्पादनका लागि प्रयोग भइरहेको जग्गा, आहारा र दानाको नियमित आपूर्ति व्यवस्था, प्राविधिक सेवाको पहुँच, सङ्क्रामक रोगविरुद्ध खोपको नियमितता, स्टेनलेस स्टीलका सफा भाँडाकुँडाको प्रयोग र अद्यावधिक अभिलेख व्यवस्थापनजस्ता विषयमा जानकारी लिएको थियो।

अनुगमन टोलीमा वडा नं. १ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक गेमबहादुर खड्का, आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, अनुगमन समितिका सदस्य रणबहादुर पुजाली, चम्फा भुसाल र पशु चिकित्सक विनय थापा लगायतको सहभागिता रहेको थियो।कार्यक्रमले गाउँपालिका भित्र पशुपालनलाई व्यवस्थित र वैज्ञानिक पद्धतिमा अघि बढाउँदै किसानहरूलाई आत्मनिर्भर बनाउने दिशामा सहयोग पुर्याउने लक्ष्य रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे