राप्तीमा इप्रका भालुवाङ र गढवाका प्रहरी प्रमुख सँग ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न
भालुवाङ १७ वैशाख। दाङको राप्ती गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भालुबाङ र गढवा गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुखहरूको हालै सरुवा भएको छ। प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक कालिका कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँमा सरुवा भएपछि राप्ती गाउँपालिकाले बुधबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी उनीहरूलाई विदाई गरेको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले संयुक्त रूपमा प्रशंसापत्र र मायाकाे चिनाे प्रदान गर्दै दुवै प्रहरी अधिकृतलाई विदाई गरेका हुन् । सो अवसरमा अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको समग्र शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी निरीक्षक माझी र कार्कीको अतुलनीय योगदान रहेको उल्लेख गरे । उनले हरेक जटिल परिस्थितिमा पनि दुवैले अत्यन्त जिम्मेवारीपूर्वक काम गर्दै स्थानीय बासिन्दालाई सुरक्षित र सहज वातावरण प्रदान गर्न सफल भएको बताए । अध्यक्ष विष्टले उनीहरूको इमान्दारिता, कर्तव्यनिष्ठा र समुदायप्रतिको समर्पणलाई उच्च सम्मान रहने उल्लेख गरे। साथै, गाउँपालिकाकाे शान्ति, सद्भाव र सुशासनमा योगदान पुर्याउने सम्पूर्ण सुरक्षाकर्मीहरूलाई सदैव समर्थन र साथ रहने बताए।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले प्रहरी निरीक्षक माझी र कार्कीले समुदायमैत्री अभ्यास गर्दै नागरिकहरूको विश्वास जित्न सफल भएको बताए। उनले सुरक्षालाई बलियो बनाउने कार्यमा गाउँपालिका र सुरक्षाकर्मीबीचको आपसी सहकार्यले सकारात्मक परिणाम देखाएको उल्लेख गरे । पाठकले राप्तीलाई सुरक्षित, समृद्ध र नागरिकमैत्री पालिका बनाउन उहाँहरूको योगदान कहिल्यै भुल्न नसकिने बताउँदै आगामी दिनमा पनि यस्तै सहकार्य र समर्पणको अपेक्षा राखे। कार्यक्रममा प्रहरी निरीक्षक अमरबहादुर माझीले राप्ती क्षेत्रका जनताको साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । उनले यस क्षेत्रकाे सेवा यात्राले आफूलाई अझ जिम्मेवार प्रहरी बन्न थप प्रेरणा दिएको उल्लेख गरे । त्यसैगरी प्रहरी निरीक्षक कालिका कार्कीले पनि पालिका प्रशासन, जनप्रतिनिधि तथा स्थानीय समुदाय प्रति कृतज्ञता प्रकट गर्दै आगामी जिम्मेवारीमा पनि समुदायको भरोसा जित्न निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रहरी निरीक्षक माझी र कार्कीले २०८१ साल जेठ ३ गते क्रमशः इलाका प्रहरी कार्यालय भालुबाङ र इलाका प्रहरी कार्यालय गढवाकाे प्रमुखका रूपमा कार्यभार सम्हालेका थिए। करिब ११ महिनाको कार्यकालमा उहाँहरूले स्थानीय समुदाय, संघसंस्था र प्रशासनसँगकाे सहकार्यलाई प्राथमिकता दिँदै कार्यसम्पादन गरेका थिए। यसै बीच प्रहरी निरीक्षक पुष्करसिंह ऐरी इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी निरीक्षक डबलबहादुर बम गढवाको नयाँ प्रमुखका रूपमा कार्यभार सम्हालेका छन्। गाउँपालिकाले नयाँ नेतृत्वसँग पनि शान्ति सुरक्षा सुदृढीकरणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

