राप्ती गाउँपालिकाले विपद् जोखिम क्षेत्रको पहिचान गर्दै पूर्वतयारी थाल्यो
भालुवाङ १५ वैशाख । दाङको राप्ती गाउँपालिकाले बर्खायाम सुरु भएसँगै निम्तन सक्ने विपद् जोखिम व्यवस्थापनका लागि सक्रिय पहल थालेको छ। गाउँपालिकाले आफ्ना नौवटा वडामा विपद् निम्त्याउन सक्ने सम्भावित स्थानहरूको स्थलगत अवलोकन गरी, त्यसबाट नागरिकलाई सुरक्षित राख्न तत्काल अपनाउन सकिने कार्यहरू अगाडि बढाएको हो।
सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहितको टोलीले वडा नम्बर १, २,३ र ४ का विभिन्न स्थानहरूको स्थलगत अवलोकन गरेको थियो। स्थलगत अवलोकनका क्रममा सम्भावित डुबान तथा पहिरो जोखिम क्षेत्रहरूको पहिचान गरिएको र ती स्थानहरूमा आवश्यक सावधानी तथा सुरक्षात्मक उपाय अवलम्बन गरिने अध्यक्ष विष्टले जानकारी दिए ।
अध्यक्ष विष्टका अनुसार, “बर्खायाम सुरु भएसँगै डुबान, पहिरो लगायतका विपद् निम्तिन सक्ने सम्भावना उच्च भएकाले नागरिकलाई सुरक्षित राख्न जोखिम क्षेत्रहरूको पहिचान गरी तत्काल न्यूनीकरणका कार्यक्रम अघि बढाइनेछ।” उनले अन्य बाँकी वडाहरूमा पनि स्थलगत अवलोकन गरी जोखिम क्षेत्र पहिचान र न्यूनीकरणको कार्य तीव्र गतिमा अघि बढाइने बताए। राप्ती गाउँपालिकाले विपद् व्यवस्थापनमा नागरिक सहभागिता बढाउने, चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र तत्कालीन राहत तथा उद्धारका तयारी समेत तीव्र गर्ने योजना बनाएको विपत् व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराईले बताए ।

