सरकारको लगानी खोज्दै गढवाकाे कुलपानी हरितपार्क



सरकारको लगानी खोज्दै गढवाकाे कुलपानी हरितपार्क

भालुवाङ १३ वैशाख । दाङको देउखुरी स्थित कुलपानी हरित पार्कलाई आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गरि त्यसको व्यवस्थापन गर्न सरकारको लगानी आवश्यक देखिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर १ बडहरामा रहेको कुलपानी सामुदायिक वन भित्र रहेको पार्क व्यवस्थि तगर्न सरकारको थप लगानी आवश्यक रहेको समुहका अध्यक्ष नवराज शर्माले बताएका छन् । वनको कुल ४ सय ३६ दशमलव २ हेक्टर क्षेत्रफल मध्ये चार हेक्टरमा कुलपानी हरित पार्क निर्माण गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काम गरिदै आएको छ । सोही क्रममा सामुदायिक वन समुहको पर्यापर्यटन विकास तथा संरक्षण सम्वद्र्धन र सदुपयोगमा समुहले गरेका अभ्यास बारे जानकारी दिन शुक्रवार पत्रकार महासंघ दाङ शाखा सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा वन समुहका अध्यक्ष नवराज शर्माले वन समुहको एकल प्रयासले अहिले थुप्रै कामले सार्थकता पाउँदै गए पनि दिगो विकासमा संघ र प्रदेश सरकारबाट सहयोग हुन नसकेको बताए ।

केही वर्ष यता कुलपानी सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षण, सम्वद्र्धन, सदुपयोग जीविकोपार्जन सुधार, जैविक विविधता संरक्षण, पानी मुहान संरक्षण, सिमसार व्यवस्थापन लगायत क्षेत्रमा नमूना अभ्यास गर्दा कुलपानी हरित पार्क नमूना बन्दै गएको छ । समुहले गरेको प्रयासका कारण कुलपानी हरितपार्क निर्माणपछि अहिले पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुँदै गएपनि सरकारको ध्यान पुग्न नसकेको उनले बताए । दाङ लगायत आसपासका जिल्लाका विभिन्न स्थानबाट दैनिक १ सय बढीको संख्यामा मानिसहरु आउने गरेको हरितपार्क व्यवस्थापक कृष्ण खड्काले बताए । शनिवार र बिदाको दिन यो संख्या अझ बढी हुने गरेको उनको भनाई थियो ।

कुलपानी सामुदायिक वनभित्र रहेको कुलपानी हरित पार्क क्षेत्रभित्र विभिन्न मठमन्दिर, हरियाली मैदान, ताल पनि निर्माण भएका छन् । पार्कको आकर्षण थप बढाउन दाताहरुको सहयोगमा विभिन्न जनावरका मूर्तिसमेत बनाईएको छ । कुलपानी सामुदायिक वनले जलवायु परिवर्तनका अनुकुलनका प्रयाससँगै समुह व्यवस्थापनका क्षेत्रमा पनि पछिल्लो समय थुप्रै काम गर्दै आएको जनाएको छ । समावेशीकरण, गरिबी निवारण प्रयासका लागि घुम्ती कोष सञ्चालन, शिक्षा स्वास्थ्य लगायत विषयका साथै वनपैदावारमा आधारित काष्ठजन्य उद्योग समेत संचालन गर्दै आएको कुलपानी सामुदायिक वन समुहका अध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँले हरित पार्क निर्माणसँगै व्यवस्थापनको काम अझै जारी रहेको भन्दै आन्तरिक पर्यटन प्रवद्र्धन गरी यस क्षेत्रको विकासका लागि काम भईरहेको बताए ।

कुलपानी सामुदायिक वन समुहलाई धार्मिक पर्यापर्यटन, जैविक विविधता, नमुना सामुदायिक वनको चिनारी तथा विकासका लागि योजनावद्ध रुपमा काम गरिरहेको बताउनुभयो । यसका लागि कुलपानी हरितपार्क तथा धार्मिक पर्यापर्यटन क्षेत्र करिव २० हेक्टर क्षेत्रफलमा वृद्धि गर्ने, चारैतिर तारवार गर्ने, जैविक विविधताको संरक्षण गर्दै सामुदायले नै वन क्षेत्रभित्र मिनी चिडियाखानाको निर्माण गर्ने, जङगली जनावर संरक्षणका लागि जनावर उद्धार केन्द्र निर्माण गर्ने, लोपोन्मुख काष्ठजन्य सामग्री संडकलनका लागि प्राचिन काष्ठ संडग्राहालय निर्माण कार्य अघि बढाउने योजना रहेको पनि अध्यक्ष शर्माले बताए । यसै गरी वन समुहले गर्नु पर्ने निर्यामत कामलाई पनि प्रभावकारी बनाउँदै लगेको बताए । उनका अनुसार उपभोक्ताहरुलाई आवश्यकता अनुसार तयारी फर्निचर उपलब्ध गराउने, जीविकोपार्जन कार्यक्रम अर्थात गरिवी न्युनीकरणलाई प्रभावकारी र उपलब्धीमुलक बनाउने, सामाजिक लैंगिक विभेदमुक्त समाज निर्माणका लागि गोष्ठी अन्तरक्रिया तालिम सञ्चालन गर्ने काम वन समुहको प्राथमिकतामा रहेको छ ।

वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रभित्र पाइने पात पतिङगर सोत्तर संकलन गरी प्राङ्गारिक मल उत्पादन गर्ने र कृषि उब्जनीमा वृद्धि गर्ने, कार्बन उत्सर्जन न्युनीकरण गर्न जैविक विविधताको संरक्षण गर्न जलवायु परिवर्तन अनुकुलनमा बढावा गर्ने, शिक्षा, स्वास्थ्य, लगायत जनजीविकाको सवालमा कार्ययोजनाले तोकेअनुसार काम गर्ने पनि उनले बताए । सामुदायिक वनले सञ्चालन गरेको हरितपार्क प्राकृतिक र मानव निर्मित संरचनाले आगन्तुकलाई आकर्षित गरेको छ । हरितपार्क जति प्राकृतिकरुपले हराभरा छ त्यति नै मानव निर्मित संरचनाले पनि आगन्तुकलाई आकर्षण गरिरहेको छ । हरितपार्कमा प्राकृतिक रुपमा औषधीय गुण भएका मौवाका रुखहरु छन् । तीनवटा पोखरी निर्माण गरिएको छ । जहाँ बोटिङको समेत व्यवस्था गरिएको छ । बालबालिकाहरुलाई बोटिङ गराउने र रमाउन सहज भएको छ ।
त्यति मात्रै होइन हरितपार्कमा बालउद्यान पनि सञ्चालनमा छ ।

कृत्रिम रुपमा घोडा, खरायो, चितुवा, गरुढ, मयुर, गोही, भ्यागुता, गंैडाका आकृतिले झन आगन्तुकलाई लोभ्याउन सफल भएको छ । सँगसँगै वन्यजन्तुहरु पनि प्रत्यक्षरुपमा हेर्न पाइने भएकाले अझ रमाइलो हुने आगन्तुकहरु बताउँछन् । हरित पार्कभित्र चित्तल पालिएको छ भने अजिङ्गर, कछुवा, खरायो पनि प्रत्यक्षरुपमा हेर्न पाइन्छ । सँगसँगै काठको भ्यूटावर, चर्खे पिङले पनि आगन्तुकको मन तानेको छ । हरित पार्कमा काठ संग्रहालय पनि व्यवस्थित गरिदैछ । काठबाट बनेका सामग्रीहरु डुंगा, हलो, जुवाजस्ता पुर्खाले प्रयोग गर्दै आएका वस्तुहरु नयाँ पुस्तालाई देखाउनका लागि काठजन्य वस्तु हेर्न संग्रहालयकै रुपमा विकास गर्न लागिएको छ ।

आर्थिक वर्ष ०८०÷८१ मा हरितपार्कमा ५१ हजार आगन्तुकले शुल्क तिरेर पार्क अवलोकन गरेका छन् । वनले पार्क प्रवेशमा प्रतिव्यक्ति १० रुपैयाँ, वनभोजका लागि पाँच सय रुपैयाँ शुल्क लगाएको छ । त्यस्तै त्यहाँ फोटो खिच्ने व्यावसायिक फोटो ग्राफरहरुलाई पनि उपभोक्ता भए दैनिक दुई सय र गैर उपभोक्ता भए दैनिक चार सय शुल्क लगाएको छ । उनीहरुले शुल्क तिरेर पार्क प्रवेश गर्ने र त्यहाँ आएका आगन्तुकको फोटो खिचेर उपलव्ध गराउने व्यवस्था गरिएको छ । हरितपार्क सञ्चालन गरेर कुलपानी सामुदायिक वनले वार्षिक १० लाख रुपैयाँ पनि आम्दानी गरिरहेको वन समूहले जानकारी दिएको छ । हरितपार्कमा दाङ, कपिलवस्तु, रुपन्देही, सुर्खेत, रोल्पा, प्युठानलगायतका ठाउँबाट आगन्तुक आउने गरेका छन् । पिकनिक स्पटसमेतको व्यवस्था गरिएको हरितपार्कलाई थप व्यवस्थित गर्दै लैजाने र पर्यापर्यटनको विकास गर्ने वन समितिको लक्ष्य छ ।

समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्मा, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, पुर्व अध्यक्ष डा. सुदिप गौतम, संस्थापक सचिव केपी घिमिरे, लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । समुहका उपाध्यक्ष राकेश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समुहका सचिव दिलबसी विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे