कुलपानी सावउसको ३१ औँ साधारणसभा सम्पन्न, सामुदायिक वनलाई उद्यम संग जोड्न आग्रह

देउखुरी ११ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनलाई उद्यम र रोजगार संग जोड्नु पर्ने बताएका छन् । दाङ देउखुरीको कुलपानी सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका–१, बडहराको ३१ औँ बार्षिक साधारणसभा तथा समूहको काठ गोदाम घरको आज बिहिबार उद्घाटन गर्दै अध्यक्ष भुसालले यस्तो बताएका हुन् ।
उनले सामुदायिक वन समूहमा जोडिएका उपभोक्ताहरूलाई पर्यापर्यटन तथा काष्ठ उद्योग लगायतका कार्यक्रमबाट रोजगारी सिर्जना गर्न तर्फ तप्परता देखाउनु पर्ने बताए । साथै उनले सामुदायिक वन समूहका सवालमा वन महासंघ निरन्तर रूपमा आन्दोलित रहेको बताउँदै अध्यक्ष भुसालले आन्दोलन र संवादबाट आवश्यक निकास निकाल्न सरकारले आफ्नो भूमिका बढाउन समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै सव–डिभिजन वन कार्यालयका प्रमुख अनन्त डाँगीले सामुदायिक वन समूहलाई डढेलोबाट बचाउन सबै उपभोक्ताहरू सचेत र जागरुक बन्न आग्रह गरे । उनले डेढेलो कै कारण प्रत्येक बर्ष वन विनास हुने गरेको बताउँदै प्रमुख डाँगीले वन बचाउन डेढेला नियन्त्रण गर्न आवश्यक रहेको बताए । साथै डढेलो नियन्त्रणका लागि वन समूहको प्रमुख एजेण्डा बन्नु पर्ने समेत बताए ।
समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यता एवम् कालाकाटे सव–डिभिजन वन कार्यालयका प्रमुख अनन्त डाँगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा समूहको ३ लाख ५० हजारको लगानीमा निर्माण गरिएको तीन कोठे पक्की काठ गोदाम घरको उद्घाटन गरिएको छ । उक्त घरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी वन महासंघका दाङ जिल्ला अध्यक्ष भुसालले रिबन काटेर गरेका थिए ।
त्यस्तै कार्यक्रममा वन समूहले दुई वटा सामुदायिक विद्यालय, एउटा वन कार्यालय र एउटा अति विपन्न घर परिवारलाई आर्थिक तथा भौतिक सामाग्री सहयोग गरेको छ । जस अनुसार सोही ठाउँको आदर्श प्राबि बडहरामा अध्ययनत १८ विपन्न विद्यार्थीहरूलाई अध्ययन शुल्क बाफत नगद ९९ हजार ६ सय, राप्ती गाउँपालिका–३, बसन्तपुर स्थित विपी आधारभूत विद्यालयलाई विपन्न विद्यार्थी छात्रबृत्ति प्रदानका लागि २५ हजार र कालाकाटे सव–डिभिजन वन कार्यालयलाई एक थान कलर प्रिन्टर र राप्ती गाउँपालिका–३, बसन्तपुरका अतिविपन्न उपभोक्ता घर परिवारलाई २ थान पंलङ्ग समेत बितरण गरेको छ ।
समूहका उपाध्यक्ष राकेश शर्माको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका जिल्ला सदस्य बिष्णुमाया बसेल, भू–तथा वातावरण संरक्षण अभियान नेपालका पूर्व केन्द्रीय सदस्य एवम् पत्रकार महेश रिजाल, समूहका पूर्व अध्यक्ष देबराज यादब र बुद्धिजीवी तथा शिक्षाप्रेमी राजितराम यादब लगायतका बक्ताले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव दिलबसी बिकले गरेकी थिइन् ।