राप्तीमा ३ हजार ९ सय भन्दा बढी बालबालकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदै
देउखुरी ६ वैशाख । दाङको राप्ती गाउँपालिकामा ३ हजार ९ सय ४० जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत शनिबार र आइतबार दुई दिनसम्म बालबालिकालाई औषधी खुवाइँदै छ।
अभियानको उद्घाटन शनिबार वडा नम्बर ६ मझेरियाबाट गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएर अभियानको शुभारम्भ गरे। मन्त्री सारु मगरले बालबालिकालाई नियमित खोप तथा पोषण कार्यक्रममा सहभागी गराएर असल संस्कारसहित हुर्काउन सकेमा उनीहरू भविष्यमा स्वस्थ, निरोगी र जिम्मेवार नागरिक बन्ने बताए । उनले अझै पनि केही क्षेत्रमा अन्धविश्वासका कारण यस्ता कार्यक्रमबाट टाढा रहने प्रवृत्ति रहेको उल्लेख गर्दै सो प्रवृत्ति हटाउन जनचेतना आवश्यक भएकोमा जोड दिए ।
स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको पर्याप्त सेवन भए पनि सूक्ष्म पोषण तत्वको अभावका कारण भिटामिन ‘ए’ को कमी देखिने बताए । भिटामिन ‘ए’ को कमीले दृष्टि कमजोर हुनुका साथै आँखामा घाउ र रतन्धोपनजस्ता समस्या देखिने जानकारी उनले दिए।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हाल समुदायमा नसर्ने रोगहरू बढ्दै गएकाे प्रति चिन्ता व्यक्त गर्दै यस्ता रोगको रोकथाममा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावकारी हुने बताए । “रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलाग्ने गरी पूर्वतयारी गर्नुपर्छ,” उनले भने। कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका रोशनलाल चौधरी, स्वास्थ्य मन्त्रालयका नोद नारायण चौधरी, ईश्वरी केसी, रोशन थापा, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष गीता चौधरीलगायत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयको उपस्थिति थियो।स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार ६ महिनादेखि १ वर्ष उमेर समूहका ९ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्ष उमेर समूहका करिब ३ हजार ९ सय ४० जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। साथै, अभियान अन्तर्गत बालबिटा खुवाउने र कुपोषण परीक्षण समेत गरिने छ।
कार्यक्रम सफल बनाउन ६४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालित गरिएको छ। शनिबार बुथ केन्द्रमार्फत औषधि खुवाइँदैछ भने आइतबार छुटेकाहरूलाई घरमै पुगेर औषधि खुवाइने छ। कार्यक्रमको अनुगमन स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्य शाखाले गर्नेछ। सरकारले भिटामिन ‘ए’ को कमी रोकथामका लागि वि.सं. २०५० मा आठ जिल्लाबाट कार्यक्रम सुरु गरेको हो। २०५९ सालदेखि यो कार्यक्रम देशभर लागू गरिएको हो। जुका नियन्त्रण कार्यक्रम २०५६ मा सुरु भई २०६७ सालदेखि सबै जिल्लामा विस्तार भएको हो। यस्तै, बालबिटा खुवाउने कार्यक्रम २०६४ सालदेखि सञ्चालनमा छ।
सरकारले हरेक वर्ष वैशाख र कार्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ। भिटामिन ‘ए’ आँखा तथा रोग प्रतिरोधात्मक क्षमताका लागि अत्यन्त आवश्यक मानिन्छ। सरकारी तथ्याङ्कअनुसार यसको कमीका कारण नेपालमा दैनिक कम्तीमा एक जना बालबालिका अन्धोपनको शिकार हुने गरेका छन्।

