राप्तीमा जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

भालुवाङ ५ वैशाख । दाङको राप्ती गाउँपालिकामा शुक्रबार जनप्रतिनिधि र गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
वडा नम्बर २ लालमटियास्थित टुडिखेल खेलमैदानमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा कर्मचारी टोली विजयी भएको हाे। प्रतियोगिताको पुरुषतर्फको खेलमा कर्मचारी टोलीले जनप्रतिनिधिको टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमै दुई गोल गर्दै अग्रता बनाएको कर्मचारी टोलीले दोस्रो हाफमा थप एक गोल गर्दै फराकिलो जित दर्ता गरेको हो। त्यस्तै महिला तर्फको खेलमा पनि कर्मचारी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै महिला जनप्रतिनिधिहरूको टोलीलाई २–० को अन्तरले पराजित गरेको छ। महिला खेलमा कर्मचारी टोलीले सुरुवातदेखि नै बलमा नियन्त्रण राख्दै खेल आफ्नो पक्षमा लिएको थियो।
प्रतियोगितामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडाध्यक्षहरू, विभिन्न शाखा कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। खेलकुद मार्फत कार्यस्थलमा आपसी समन्वय, समझदारी र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।