राप्ती गाउँपालिकाको लालमटिया टुडिखेलमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरू
भालुवाङ ३ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित टुडिखेलमा बुधबार देखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरू भएको छ ।
राप्ती गाउँपालिकाको आयोजनामा सुरू भएको खेलको उद्घाटन लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूले गरेका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता सुरू भएको खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारूले राष्ट्रिय सँगै अन्तर्राष्ट्रिय स्तरमा पनि खेलकुलको विकास गर्न आवश्यक रहेको बताए । नेपालमा गणतन्त्र आइसकेपछि खेल क्षेत्रमा राज्यले लगानी लगाउन थालेपछि खेलकुदको विकास हुन थालेको बताए । गणतन्त्र अगाडि खेलाडी आफैले लगानी लगाउनुपर्ने अवस्था रहेको स्मरण गराए । पन्चायत देखि गणतन्त्र आइसकेपछि खेलको विकासमा धेरै फट्को मारेको उनले बताए । अहिलेको अवस्थामा सरकार र स्थानीय तहले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए । “खेलाडीको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ,” थारुले भने, “भलिबल, क्रिकेट, फुटबल लगायतका खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको छ, अझै पनि खेलाडीमा लगानी आवश्यक छ।”
त्यस्तै गाउँपालिका अध्यक्ष विष्टले देशको आमूल परिवर्तन पछि स्थानीय सरकारले स्थानीय खेलाडीहरूको विकासका लागि खेलकुद कार्यक्रमको आयोजना गर्न लागेको बताए । खेलकुल प्रतियोगितामा विभिन्न समयमा राप्ती गाउँपालिकाले राम्रो प्रगति गरेको उनले बताए । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको पालिका भएकोले प्रदेश स्तरको खेलमैदान निर्माणका लागि स्थानीय सरकारले पहल गर्ने र खेल क्षेत्रमा थप बजेट बनाउने उनले बताए । अध्यक्ष विष्टले खेल जीवनलाई गतिशील बनाउने माध्यम भएको उल्लेख गर्दै अनुशासन, समर्पण र सामूहिकता सफलताको आधार भएको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले स्थानीय स्तरबाट शुरु गरिएको प्रतियोगिताले खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्र प्रतिनिधित्व गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्दै खेलाडीलाई निरन्तर हौसला प्रदान गरिने बताइन् । सो अवसरमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, नेकपा एमाले राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्याैपाने, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी उपाध्यक्ष बसन्त नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिकाका कार्यवाहक सभापति राजकुमार आचार्य, नेकपा एकीकृत समाजवादीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष शिशिर पुन, राष्ट्रिय जनमोर्चाका डिलाराम पाैडेल, सशस्त्र प्रहरी बल २९ नम्बर गण नेपाल ज्वालामाई भालुवाङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार धिताल, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बोल्ने वक्ताहरूले खेलले शारीरिक, मानसिक, बाैद्विक विकास हुने भएकोले सवै खेललाई समेटर लैजान सुझाव दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको स्वागत मन्तव्यबाट सुरू भएको खेल उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । ८ वटा वडाका महिला पुरूष गरि ८/८ वटा समुहले भाग लिएको प्रतियोगितामा बुधबारका खेलहरू अन्तरगत पुरूष तर्फ वडा नम्बर २ र ८, ५ र ७, ३ र ६ तथा १ र ४ त्यसै गरि महिला तर्फ वडा नम्बर २ र ३,१ र ८, ४ र ६, ५ र ७ बीच खेल भएको ३ नम्बर वडा अध्यक्ष तथा खेल संयोजक उमेश अधिकारीले जानकारी दिए । विजेता टिमलाई नगद ४०/४० हजार र उपविजेता टिमलाई ३०/३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता राप्ती गाउँपालिका–२, लालमटिया स्थित टुडिखेल मैदान बराखुटीमा चैत ५ गतेसम्म सञ्चालन हुने खेल संयाेजक अधिकारीले जानकारी दिए ।
