राप्ती गाउँपालिकामा ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया



राप्ती गाउँपालिकामा ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया

भालुवाङ २० चैत । दाङको राप्ती गाउँपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारी सञ्चालनका अवसर, चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ।

कार्यक्रम सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे। “मर्यादित सहकारी : समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न पक्षमा छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले समाजवाद उन्मुख अर्थतन्त्रको विकास सहकारीबाट मात्रै सम्भव हुने धारणा व्यक्त गरे । उनले सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सहकारीकर्मीहरू मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । साथै, लोभ प्रवृत्तिले सहकारी संस्थाहरू धरासायी हुने खतरा रहेको भन्दै सहकारीको मर्यादा कायम राख्न सबै सचेत हुनुपर्नेमा जोड दिए । त्यस्तै अध्यक्ष विष्टले स्थानीय सरकार सदैव सहकारी संस्थासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

साे अवसरमा सहकारी दर्ता अधिकारीकाे कार्यालय राप्ती उपत्यका देउखुरीका वरिष्ठ शाखा अधिकृत बाबुराम पन्थीले सहकारी संस्था सञ्चालनका सिद्धान्त मूल्य मान्यता र सहकारी संस्थाका वर्तमान समस्या,चुनाैती र समाधानका उपाय सम्बन्धि र राप्ती गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर आचार्यले गाउँपालिकामा सहकारी संस्थाहरूकाे अवस्थाकाे बारे कार्यपत्र प्रस्तुत गरेका थिए। अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सदस्य खुशल घिमिरे, सहकारीकर्मीहरू शिध्वज मल्ल, ऋषिराम खनाल, कृष्णराज पाैडेलगायतका सहभागीहरूले सहकारी क्षेत्रका अवसर, वर्तमान चुनौती र तिनको समाधानका उपायबारे आफ्ना विचार व्यक्त गरेका थिए ।गाउँपालिकाको नियमन क्षेत्र भित्र रहेका ३७ सहकारी संस्था मध्ये २५ सहकारी संस्था सक्रिय रुपमा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे