सञ्चारकर्मी माथिकाे आक्रमण राेक्न पत्रकार महासंघ दाङले सरकारलाई बुझायाे ज्ञापनपत्र

दाङ १८ चैत । नेपाल पत्रकार महासंघले काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई तत्काल उचित कदम चाल्न माग गरेको छ ।
महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई बुझाएको ज्ञापनपत्रमा घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न, मृतक पत्रकार सुरेश रजकका परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइते पत्रकारहरूको उपचारको प्रबन्ध गर्न माग गरिएको छ।प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारकर्मीलाई लक्षित गरी आक्रमण गरेको थियो । भिड़ियो खिच्ने क्रममा आगलागीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ भने पत्रकार दिनेश गौतम गम्भीर घाइते भएका छन् ।
अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी गरिएको छ भने कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा प्रहार गरी क्षति पुर्याइएको छ। हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड भएको छ भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ। महासंघले सञ्चारमाध्यम तथा पत्रकारमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्न, क्षति पुगेका सञ्चारगृह तथा सञ्चारकर्मीलाई राहत र क्षतिपूर्ति दिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षाका लागि ठोस रणनीति अवलम्बन गर्न माग गरेको छ । महासंघले एक साताभित्र माग पूरा गर्न सरकारसँग आग्रह गर्दै अन्यथा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनका अनुसार महासंघका शाखाहरूले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाएका छन् । यसैबीच महासङ्घ दाङले ज्ञापन पत्र बुझाएकाे छ । अध्यक्ष सन्तोष सुवेदी, प्रदेश महासचिव पाण्डवप्रसाद शर्मा, सल्लाहकार दुर्गालाल केसी, सुदिप गौतमलगायतले सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढालाई ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बुढाले पत्रकारमाथिको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै घटनाको गम्भीर अनुसन्धान भइरहेको बताए । उनले दोषीमाथि कानुनी कारबाही गर्न कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै घाइते पत्रकारहरूको उपचार तथा क्षतिपूर्तिको विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । महासंघले सरकारको निर्णयअनुसार आगामी रणनीति तय गर्ने जनाएको छ। लुम्बिनी सञ्चार डटकमबाट साभार