राप्ती गाउँपालिकाको पशुवृद्वा आश्रममा आहाराको अभाव
भालुवाङ १३ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित पशुवृद्वा आश्रम तथा गौशाला सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको छ ।
कालिका सामुदायिक वन उपभोक्ता समुहद्वारा सञ्चालित पशुवृद्वा आश्रम तथा गौशाला व्यवस्थित हुँदै गए पनि गाई गोरूलाई आहाराको अभाव हुन थालेको हो । गौशालामा अहिले ९२ बढी गाई गोरु तथा बाछाबाछी रहेका छन् । चौपायाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । वन समूह सँग पर्याप्त स्रोत नहुँदा आहारा पु¥याउन समस्या हुँदै आएको छ,’ कालिका सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष यमबहादुर रोका मगरले भने, ’दाताहरूले गरेको सहयोग र गौशालाको केही आम्दानीले जसोतसो चौपायालाई खुवाउन पुगेको छ ।’
उनका अनुसार गौशालालाई विभिन्न व्यक्तिहरुले विशेष अवसरमा सहयोग गर्दै आएका छन् । संरचनागत रूपमा व्यवस्थित बन्दै गए पनि चौपायाको आहाराको व्यवस्थापनमा चुनौती थपिँदै गएको उनको भनाइ छ ।
खासगरी पर्याप्त मात्रामा परालको व्यवस्थापन हुन नसक्दा आहारा खोज्दै हिँड्नुपरेको कोषाध्यक्ष मगर बताउँछन् । ’हामीसँग पराल धेरै थियो । एक वर्षलाई पुग्छ भनेको पराल छ महिनामै सकियो,’ उनी भन्छन्, ’अझै समय धेरै छ । पराल कतै पाइँदैन । पाइएको ठाउँमा पनि महँगो छ । खरिद गर्नका लागि समुहसँग पैसा छैन ।’ अब गहुँको भुसको जोहोमा जुटेका छौ उनले भने । आहारा नहुँदा गाई गोरु समेत दुब्लाउँदै जान थालेको समुहका अध्यक्ष जोहोरमान मियाँले बताए । यस्तै गौशालामा गाई गोरूलाई घाम र पानीबाट बचाउन गोठ छैन् ।
गोठ बनाउन केही प्रयास गरेका छौ तर आर्थिक समस्याका कारण बनाउन लागेको गोठ पनि अलपत्र अवस्थामा रहेको अध्यक्ष मियाँले बताए ।
त्यस्तै गौशालामा ३ जना गौरक्षक आवश्यक रहे पनि अहिले १ जना गौंरक्षकको भरमा सो गौशालाको हेरचाह भइरहेको अध्यक्ष मियाले बताए हाल सो गोठ बनाउन सामुदायिक वनको आन्तरिक कोषबाट २ लाख, भृकुटी महिला विकास बचत तथा ऋण सहकारीबाट ५० हजार र महायज्ञबाट ८० हजार केहि रकम प्रदेश सरकारबाट प्राप्त भए पनि बजेट अभावले काम रोकिएको अध्यक्ष मियाले बताए । कुल ७ लाखमा सो गोठ निमार्ण हुने स्टिमेट तयार भएको छ । अहिले राप्ती गाउँपालिका सँग स्टिमेट सहित बजेट माग गरेको अध्यक्ष मियाँले बताएका छन् ।

