राप्ती ३ मा योजनाको भुक्तानी गर्ने नयाँ तरिका, उजुरी नपरेमा मात्र भुक्तानी पाइने

भालुवाङ १२ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ ले सम्पन्न योजनाहरूको भुक्तानी दिने नयाँ तरिकाको सुरूवात गरेको छ ।
हालै वडा समितिको सम्पन्न बैठकले सम्पन्न भएका योजनाको भुक्तानी गर्ने नयाँ तरिका अवलम्बन गरेको हो । योजना कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता सँगै भुक्तानीको वैधता सुनिश्चित गर्न, अन्यायपूर्ण भुक्तानी रोक्न, वित्तीय जोखिम कम गर्न तथा बजेटको सहि सदुपयोग भए नभएको लगायतका विषयमा वडाबासीलाई जानकारी होस् भन्नका लागि वडा कार्यालयले ३ दिने दावी विरोधको सुचना प्रकाशित गरेर मात्र रकम भुक्तानी दिने गरेको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष अधिकारीले कुनै पनि योजना भुक्तानी अघि सो योजना सम्बन्धमा कुनै गुनासो, सुझाव वा उजुरी भएमा तीन दिन भित्र लिखित रूपमा वडा कार्यालयमा पेश गर्न सबै सरोकारवालालाई आग्रह पनि गरेका छन् । त्यस्तै उनले योजना कार्यान्वयनलाई थप पारदर्शी बनाउने र स्थानीय नागरिकलाई योजना प्रक्रियामा सहभागी गराउने उद्देश्यले यस्तो अभ्यास सुरु गरिएको बताए। “हामीले विकासे योजनामा सबैको विश्वास कायम राख्न र योजना कार्यान्वयनलाई जनउत्तरदायी बनाउन वडा समितिको निर्णय अनुसार यस प्रकारको अभ्यास सुरु गरेका हौं,” अध्यक्ष अधिकारीले भने ।
सुचना प्रकाशित गरेको ३ दिन भित्र कसैको पनि उजुरी वा दावी विरोध नपरेमा मात्र रकम भुक्तानी हुने र दावी विरोध तथा उजुरी परेमा भुक्तानी रोकिने वडा अध्यक्ष अधिकारीले बताए । भुक्तानी गर्नुअघि दावी गरेर, उक्त रकम साँच्चै तिर्नुपर्ने हो वा होइन भन्ने कुरा प्रमाणित गर्न सकिने, यदि कुनै गलत बिलिङ, अनावश्यक शुल्क वा अनुचित आर्थिक दाबी गरिएको छ भने, भुक्तानी गर्नु अघि विरोध गर्न सकिने समेत वडा अध्यक्ष अधिकारीले बताए।
उनले यदि भुक्तानी सेवा, वस्तु वा सम्झौताको सर्तहरू अनुसार नभएमा, भुक्तानी रोक्न र पुनः समायोजनको लागि दावी गर्न सकिने तथा दावी गर्दा लिखित प्रमाण तयार हुने जसले पछि कानुनी रूपमा सहयोग गर्न सक्ने बताए । दावी गरेपछि वार्ता गर्न सकिने जसले गर्दा भुक्तानीको सर्त सुधार्न वा सम्झौतामा समायोजन गर्न सकिने कुनै विवादित वा अनिश्चित भुक्तानी तुरुन्तै नगरी पहिला स्पष्टता ल्याएर अनावश्यक वित्तीय जोखिम कम गर्न सकिने र कुनै विवादित वा अनिश्चित भुक्तानी गर्नु अघि दावी गर्नु आर्थिक र कानुनी रूपमा सुरक्षित रहन मद्दत समेत वडा अध्यक्ष अधिकारीले बताए।