दाङमा बस दुर्घटना : १३ जना घाइते, १ जनाको अवस्था गम्भीर



दाङमा बस दुर्घटना : १३ जना घाइते, १ जनाको अवस्था गम्भीर

दाङ ४ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ मनिकापुरस्थित बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब २ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको अम्बिकेश्वरी यातायातको रा १ ख ३१२६ नम्बरको बस विपरीत दिशाबाट आइरहेको रा ६ प २६२९ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा सडकको दायाँतर्फ पल्टिँदा १३ जना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

घाइते हुनेहरुमा तुलसीपुर-१८ बस्ने २९ वर्षिया सुष्मा नेपाली, तुलसीपुर ६ बस्ने ३६ वर्षिय लक्ष्मी गौतम, सोही ठाउँ बस्ने ६१ वर्षिय धनी केसी ( टाउकोमा गम्भीर चोट), वडा नं. १२ बस्ने ४० वर्षिय वुद्धि खत्री, तुलसीपुर ७ बस्ने ४० वर्षिय भुप बहादुर बस्नेत, तुलसीपुर १२ बस्ने ३३ वर्षिया रिता नाथ, तुलसीपुर १९ बस्ने १९ वर्षिय प्रतीक बुढाथोकी, १७ वर्षिय डम्बर बुढाथोकी रहेका छन् ।

त्यस्तै तुलसीपुर १० बस्ने ६२ वर्षिय झक बहादुर बस्नेत (बस धनी), शान्तिनगर गाउँपालिका ४ बस्ने ३५ वर्षिया कल्पना पौडेल, दार्मा गाउँपालिका १ बस्ने १८ वर्षिया यसोदा वली, दंगीशरण गाउँपालिका ४ बस्ने २१ वर्षिया लक्ष्मी चौधरी घाइते भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते भएका मध्य एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको अस्पातललाई उद्धत गर्दै प्रहरीले जनाएको छ । घाइते सबैको तत्काल उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । बस सडक किनारमा पल्टिए पनि बाटो अवरोध भने नरहेको र बस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे