राप्ती ४ का वडा अध्यक्ष चाैधरीको पहलमा वर्षाै पुरानो जिर्ण कल्भर्ट बन्दै

भालुवाङ ४ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चाैधरीले वर्षाै पुरानो जिर्ण कल्भर्ट बनाउन सुरू गरेका छन् ।
श्रीनारायण चोक माैरीघाट देखि भानपुर जोड्ने सडक खण्डमा पर्ने बड्का बहिमा करिव ४० वर्ष पुरानो जिर्ण कल्भर्ट बनाउन वडा अध्यक्ष सफल भएका हुन् । दक्षिण तर्फ पुर्व मन्त्री भरतमणी शर्मा घिमिरे र उत्तर तर्फ केही जनताको जग्गा र ऐेलानी जग्गाबाट बगेको ठूलो बहिमा बनेको सो कल्भर्टलाई नक्सा अनुसार सार्न नसकिरहेका बेला वडा अध्यक्ष चाैधरीले निर्वाचनका बेला बजेट माग गरि जसरी पनि नक्सा अनुसार सवैको सहमति गराएर बहिलाई साविकको ठाउँबाट नक्सा अनुसार ८ मिटर दक्षिण सारेर नयाँ बक्स कल्भर्ट बनाउने योजना पूरा भएको बताए ।
लुम्बिनी प्रदेश सरकारको ससत्र अनुदानबाट १५ लाख र राप्ती गाउँपालिकाको ७ लाख ८३ हजार २ सय ५७ गरि कुल २२ लाख ८३ हजार २ सय ५७ रूपैयाँको लागतमा भद्राक्षी निर्माण सेवा प्रालि राप्ती-४ माैरीघाटले बक्स कल्भर्ट निर्माणको काम सुरू गरेको राप्ती गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् । ८ मिटर लम्बाई, ६ मिटर चाैडाई रहने गरि निर्माण हुन थालेको सो कल्भर्ट निर्माणको सम्झाैता २०८१ माघ ८ गते भएको थियो भने २०८२ असार २० गते भित्र सम्पन्न गरिसक्ने इन्जिनियर बेल्वासेले बताए ।
५० औं बिघा जग्गाबाट बग्ने सो बहिमा वर्षायाममा ठुलो पानी आउँदा कल्भर्टबाट पानी पास नभई डुवान हुने रआवातजावतमा समेत बाधा पुग्ने गरेको थियोे । पटक पटकको बाढीले सो कल्भर्ट भाँसिएर जिर्ण अवस्थामा रहेको थियो । नयाँ कल्भर्ट बन्न थाले सँगै स्थानीयहरू समेत खुसी भएका छन् । कल्भर्ट जिर्ण हुँदा स्कुल बस, अन्य सवारी साधानलाई आवातजावत तथा वर्षायाममा सर्वसाधारणलाई जोखिम मोलेर आवातजावत गर्नुपर्ने अवस्था थियो ।