दाङको राप्ती गाउँपालिकाले ३ दिन विविध कार्यक्रम गरि नवौँ स्थापना दिवस मनाउने
भालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ।
आइतबार बसेको गाउँपालिकाको १७औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड तथा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको हो । कार्यक्रम अनुसार फागुन २७ गते पालिकाकाे ९ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम फागुन २८ गते बिहान वडा नं. ६ को मझेरिया देखि वडा नं. ३ को बसन्तपुर सम्म साइकल दौड प्रतियोगिता आयोजना गर्ने । सोही दिन विपी आधारभूत विद्यालय बसन्तपुरमा वृक्षारोपण गर्ने साथै साँझ राप्ती गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा दीप प्रज्वलन गर्ने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै फागुन २९ गते स्थापना दिवसका दिन विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेकाे अध्यक्ष प्रकाश विष्टले बताए । उत्कृष्ट सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कृषि सहकारी संस्था तथा समूह, पालिकाबाट सीप विकास तालिम लिएर उद्यम गरेका उत्कृष्ट उद्यमी, सबैभन्दा बढी व्यवसाय कर तिर्ने व्यवसायी तथा समाजमा उल्लेखनीय योगदान दिएका दिवंगत व्यक्तित्वहरूलाई मरणोपरान्त सम्मान कार्यक्रम तय गरिएको अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै दिवसमा उत्कृष्ट खोज पत्रकारिता गर्ने पत्रकार, कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तयार गरिएको छ।
कार्यपालिका बैठकले पुरस्कार तथा सम्मान वितरणका लागि व्यक्ति तथा संस्था छनोट गर्न पालिकाका उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा सात सदस्यीय “पुरस्कार तथा सम्मान छनोट तथा सिफारिस कार्यदल” गठन गरेको छ। समितिका सदस्यहरुमा पालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक पहलवान चौधरी, आर्थिक विकास समितिका संयोजक गेमे खड्का, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर चौधरी, सुशासन तथा संस्थागत विकास समितिका संयोजक देवप्रसाद चौधरी, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य सावित्री चौधरी रहेका छन् भने सदस्य सचिव प्रशासन शाखा प्रमुख विकास ज्ञवाली रहेकाे प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिएका छन् ।
