नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई राप्ती गाउँपालिकाद्वारा स्वागत
भालुवाङ २४ फागुन । दाङको राप्ती गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका देवीराम पाठकलाई स्वागत गरेको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरीसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमालासहित प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा अध्यक्ष विष्टले पाठकलाई कार्य सम्पादन पत्र प्रदान गर्दै उनको आगमनले गाउँपालिकाको सेवा प्रवाह, सुशासन र समग्र विकासलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे। “आवश्यकताका आधारमा निर्णय लिने, स्रोत साधनको अधिकतम उपयोग गर्ने र सुशासनलाई सुदृढ बनाउने कार्यमा पूर्ण प्रतिबद्धता आवश्यक छ। तपाईंकै नेतृत्वमा राप्ती गाउँपालिकाले उत्कृष्टता हासिल गर्नेछ भन्ने अपेक्षा राख्छु,” अध्यक्ष विष्टले भने।
त्यस्तै उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत पाठकको अनुभव, कार्यक्षमता र नेतृत्व क्षमताले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकले गाउँपालिकाको समृद्धि र विकासका लागि सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्दै निष्पक्षता, इमानदारिता र मेहनतका साथ अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्। यसअ घि प्रमुख प्रशासकीय अधिकृत रहेका नेब बहादुर वली सहसचिव पदमा बढुवा भई बाँसगढी नगरपालिकामा गए पछ पाठक प्यूठानको सरुमारानी गाउँपालिकाबाट सरुवा भई राप्ती गाउँपालिकामा आएका हुन् ।
