दिगो विकास लक्ष्य प्राप्त गर्न हरेक नागरिकको दायित्व छ : निमित्त महानिर्देशक पोख्रेल



दिगो विकास लक्ष्य प्राप्त गर्न हरेक नागरिकको दायित्व छ : निमित्त महानिर्देशक पोख्रेल

देउखुरी २३ फागुन । लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेलले दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकारको मात्र दायित्व नभई हरेक नागरिकको दायित्व रहेको बताएका छन् । उनले सरकारको मात्र मुख ताक्ने बानीका कारण नेपालले सोचेको जस्तो लक्ष्य प्राप्त गर्न नसकेकाले सरकारको काममा नागरिकले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।

त्यस्तै उनले सन् २०२६ मा अत्यन्तै कम विकसित मुलकबाट विकास उन्मुख मुलकको रुपमा अपग्रेड हुन लागेको समेत बताएका छन् । सुर्यविनायक माध्यमिक विद्यालय लमही नगरपालिका १ नर्तीमा गठित सस्टेनेवल डेभलपमेन्ट गोल (क्म्न्) विद्यार्थी क्लवले शुक्रबार आफ्नै विद्यालय सुर्यविनायक माध्यमिक विद्यालय नर्तीमा आयोजनामा दिगो विकास लक्ष्य सँग सम्बन्धित नमुना कार्यक्रम अन्तरगत दिगो विकासका लागि विश्वव्यापी लक्ष्य र नेपालको लक्ष्य तथा हाल सम्मको कार्यान्वयनको अवस्था विषयक देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै निमित्त महानिर्देशक पोख्रेलले सो कुरा बताएका हुन् ।

त्यस्तै उनले सन् २०३० सम्म मध्यम आय भएको मुलकको रुपमा विकास गर्ने र सँगसँगै १६ वटा दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ अगाडी बढी रहेको निमित्त महानिर्देशक पोख्रेलले बताएका छन् । ती सवै उद्देश्य प्राप्तिका लागि नेपालका विभिन्न विद्यालयहरुमा यी कार्यक्रमहरु राख्ने योजना बनेको बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीले विद्यार्थीहरु मार्फत दिगो विकासको सिकाई तथा लक्ष्य प्राप्ती गर्नका लागि स्कुल केन्द्रित कार्यक्रम सञ्चालन गरेको बताए । विद्यार्थी मार्फत विकासका प्रकृयाहरु अगाडी लग्न सहज होस् भन्ने उद्देश्य रहेको उनले बताएका छन् । सो अवसरमा आयोजित देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेल प्रथम भएकी छिन् । त्यस्तै प्रतियोगितामा सरस्वती मावि गोवरडिहाकी छात्रा ज्ञानमति यादव द्वितीय, सुर्यविनायक मावि नर्तीकी छात्रा अनिता परियार तृतीय र आदर्श नमुना माध्यमिक विद्यालय देउपुरकी छात्र ज्ञहेन्द्र यादवले सान्त्वना हासिल गरेका छन् । विजेताहरूलाई क्रमश ५ हजार, ३ हजार, २ हजार १ हजार नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

क्लवका अध्यक्ष एन्जिल पोख्रेलको अध्यक्षता एवम् लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पस प्रमुख शिव वली, सत्य मावि ददेरी प्युठानका प्रधानाध्यापक नारायण प्रसाद पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक हरिप्रसाद रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे