राप्तीका अध्यक्ष विष्टद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुला पत्र : बहुराष्ट्रिय पेय पदार्थको निर्यात रोक्न आग्रह
सिसहनियाँ १९ फागुन । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक खुला पत्र लेख्दै नेपालमा बहुराष्ट्रिय पेय पदार्थहरूको निर्यात रोक्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उहाँले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई सम्मान गर्ने विषयमा जोड दिएका छन्। अध्यक्ष विष्टले नेपाल प्राकृतिक स्रोत-साधनमा धनी मुलुक भएको उल्लेख गर्दै यहाँका कृषकहरूले मेहनतका साथ शुद्ध, प्राकृतिक र पौष्टिक खाद्य उत्पादन गर्ने बताए । तर, नेपालमा बहुराष्ट्रिय कम्पनीहरूद्वारा उत्पादन गरिएका पेय पदार्थहरू, जस्तै कोकाकोल र पेप्सी, व्यापक रूपमा विक्री-वितरण भइरहेको र तिनीहरूले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको उनको दाबी छ।
उनले लेखेका छन् “उच्च चिनीयुक्त यस्ता पेय पदार्थहरूले हाम्रो जनताको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने सम्भावना छ, जसले हाम्रो स्वास्थ्य प्रणालीमा ठूलो दबाब सिर्जना गर्नेछ।” पत्रमा विष्टले अमेरिकी प्रशासनलाई नेपालमा यस्ता पेय पदार्थहरूको निर्यात रोक्न आग्रह गरेका छन् । साथै, नेपालमा स्थानीय स्रोतमा आधारित उत्पादनहरू, जस्तै महि (दही) र अन्य दुग्धजन्य वस्तुहरूलाई प्रवर्द्धन गर्दै आत्मनिर्भरताको मार्ग अपनाउने योजनाबारे पनि जानकारी गराएका छन्।
त्यस्तै उनले लेखेका छन्, “राष्ट्रपति ट्रम्पजस्तो प्रभावशाली व्यक्तित्वले हाम्रो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र बहुराष्ट्रिय कम्पनीहरूलाई पनि स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न आवश्यक मार्गनिर्देशन गर्नुहुनेछ।”

