सिसहनियाँ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सपथग्रहण तथा प्रमाण–पत्र वितरण

सिसहनियाँ ७ फागुन । सिसहनियाँ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बीच प्रमाण–पत्र वितरण गर्नुका साथै सपथ ग्रहण गराइएको छ ।
निर्वाचन समितिका संयोजक विनोदकुमार गुप्ताले नवनिर्वाचित अध्यक्ष ईश्वरीप्रसाद अधिकारी सहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण–पत्र वितरण गर्नुका साथै सपथ ग्रहण गराईएको हो । निर्वाचन समितिका संयोजक गुप्ताको अध्यक्षता एवम् जेष्ठ नागरिक दुर्गा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सपथ ग्रहण पछि नवनिर्वाचित अध्यक्ष अधिकारीलाई निर्वतमान अध्यक्ष पुर्णबहादुर बुढाथोकीले माइनियुट हस्तान्तरण गर्नुका साथै पदभार समेत ग्रहण गराएका थिए ।
कार्यक्रममा राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, निर्वाचन समितिका सदस्य तथा पुर्व अध्यक्ष शान्तराज भण्डारी, संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरुले बधाई सहितको शुभकामना मन्तव्य दिएका थिए । सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दैै नवनिर्वाचित अध्यक्ष अधिकारीले सबैको भावनालाई आत्मसात गरेर अगाडी बढ्ने बताएका छन् । यस्तै उनले बोलेको कुरालाई पुरा गरेरै छाड्ने समेत बताएका छन् । त्यसका लागि उनले सम्पुर्ण कार्यसमितिका पदाधिकारी, सदस्य तथा आम व्यापारीहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । निर्वाचन समितिका सदस्य शान्तराज भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य भरतप्रसाद पाण्डेले गरेका थिए ।
संघको निर्वाचनबाट अध्यक्षमा ईश्वरीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका थिए । भने वरिष्ठ उपाध्यक्षमा मदन पोख्रेल, उद्योग उपाध्यक्षमा भागवत ज्ञवाली, वाणिज्य उपाध्यक्षमा भिमबहादुर चौधरी, महासचिवमा प्रशान्त बसेल, सचिवमा रामलाल पाण्डे, कोषाध्यक्षमा गिरबहादुर ज्ञवाली, सह–कोषाध्यक्षमा सनिप ज्ञवाली सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा निमराज चौधरी, गोविन्दबहादुर कुँवर क्षेत्री, जीवन अधिकारी, तिर्थराज ज्ञवाली, कल्पना अधिकारी बेल्वासे, गीता कुमारी चौधरी, शान्ता सुवेदी, नारायण चौधरी, रामबहादुर चौधरी र बसन्ता जिसी पनि सर्वसम्मत निर्वाचित भएका थिए ।
त्यसै गरी बुधवार नै नयाँ कार्यसमितिको पहिलो बैठक समेत बसेको छ । संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले नयाँ नेतृत्व चयन गर्न महत्वपुर्ण भुमिका खेलेकोले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले २०८२ सालको भित्तेपात्रो प्रकाशन गर्ने र त्यसका लागि उद्योग उपाध्यक्ष भागवत ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय भित्तेपात्रो प्रकाशन समिति गठन गरेको छ । जसको सदस्यहरुमा संघका सचिव रामलाल पाण्डे, कोषाध्यक्ष गिरबहादुर ज्ञवाली, सदस्य कल्पना अधिकारी बेल्वासे, तिर्थराज ज्ञवाली रहेका छन् ।