राप्तीको एकपछि अर्को सफलता, कार्यसम्पादन मूल्यांकनमा पनि जिल्लामै पहिलो



राप्तीको एकपछि अर्को सफलता, कार्यसम्पादन मूल्यांकनमा पनि जिल्लामै पहिलो

भालुवाङ २ फागुन । दाङको राप्ती गाउँपालिका पछिल्ला केही वर्षयता लगातार विभिन्न मूल्यांकन प्रणालीमा जिल्लामै पहिलो हुँदै आएको छ । केही दिनअघि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन मा पहिलो बनेको गाउँपालिका संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि गरिएको कार्यसम्पादन मूल्यांकनमा पनि पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा जिल्लाका १० स्थानीय तहको मूल्यांकन गरेको थियो । आयोगको प्रतिवेदन अनुसार राप्ती गाउँपालिकाले ६७.३ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । ६६.९ अंक सहित घोराही उपमहानगरपालिका दोस्रो, ६०.६ अंक सहित दंगीशरण गाउँपालिका तेस्रो, ६०.१ अंक सहित गढवा गाउँपालिका चौथो, ५७.६ अंक सहित शान्तिनगर गाउँपालिका पाँचौँ, ५७.४ अंक सहित तुल्सीपुर उपमहानगरपालिका छैठौँ, ५६.४ अंक सहित बबई गाउँपालिका सातौँ, ५२.६ अंकसहित राजपुर गाउँपालिका आठौँ, ५०.५ अंक सहित बंगलाचुली गाउँपालिका नवौँ, र ३२.५ अंकसहित लमही नगरपालिका दशौँ स्थानमा परेको छ ।

आयोगले कार्यसम्पादन मूल्यांकनका लागि १७ वटा सूचक तोकेको छ । स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरे–नगरेको, असार मसान्तभित्र बजेट पारित गरे–नगरेको, पुस मसान्त भित्र अर्थ मन्त्रालयमा आय–व्यय प्रक्षेपणसहितको विवरण पेश गरे–नगरेकोजस्ता सूचकहरू रहेका छन् । त्यस्तै, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, राजस्व संकलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजस्व संकलन रकम, अघिल्लो आर्थिक वर्षको यथार्थ राजस्व संकलन रकम खुलाएको छ–छैन भन्ने आधारमा पनि मूल्यांकन गरिएको छ ।

कुल विनियोजित र खर्च रकम, कुल पुँजीगत विनियोजन र खर्च, लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली क्ग्त्च्ब् को प्रयोग, स्थानीय तहले आवधिक योजना तर्जुमा गरेको छ–छैन भन्ने विषयलाई पनि मूल्यांकनको आधार बनाइएको छ । शिक्षा क्षेत्रमा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीको खुद भर्नादर, कक्षा ८ र ९ मा रहेका विद्यार्थी संख्या, सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी विद्यार्थी संख्या तथा कम्तीमा ‘म्’ वा सोभन्दा उच्च ग्रेडसहित उत्तीर्ण विद्यार्थी संख्या पनि सूचकभित्र पर्दछन् । स्वास्थ्य क्षेत्रमा एक आर्थिक वर्षमा अनुमानित गर्भवती महिलाको संख्या, चार पटक गर्भ जाँच गर्ने महिलाको संख्या, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, २४ महिनासम्मका बालबालिकाको अनुमानित संख्या र पूर्ण खोप प्राप्त गरेका बालबालिकाको संख्या आयोगले मूल्यांकन गर्ने अन्य सूचक हुन् ।

संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गरिने वित्तीय समानीकरण अनुदान कार्यसम्पादन मूल्यांकनका आधारमा सिफारिस गरिने भएकाले यो नतिजा अत्यन्त महत्वपूर्ण मानिन्छ । राप्ती गाउँपालिकाका कार्यसम्पादन मूल्यांकन फोकल पर्सन बालचन्द्र गुरुङका अनुसार आयोगले स्थानीय तहबाट तथ्यांक संकलन गरी त्यसको सत्यता प्रमाणित गरेपछि मात्र अंक प्रदान गर्ने गर्दछ । आयोगले सार्वजनिक गरेको नतिजामा चित्त नबुझे स्थानीय तहले ७ दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे