श्रम, उत्पादन र जनता केन्द्रित पार्टी मात्रै टिक्छ : पूर्व सभामुख महरा
भालुवाङ १ फागुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले श्रम, उत्पादन र जनता केन्द्रित पार्टी मात्रै बलियो र टिकाउ हुने बताएका छन् ।
बिहीबार दाङको राप्ती गाउँपालिकामा सम्पन्न नेकपा माओवादी केन्द्र गाउँ कमिटीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी जति श्रम, उत्पादन र जनता केन्द्रित हुन्छ, त्यति नै बलियो हुँदै जाने उल्लेख गरे। “पार्टी जनता तिर फर्कनुपर्छ। हाम्रो शक्ति र ऊर्जा त्यही छ। दक्षिण तिर फर्किन खोजेको पार्टी अहिले फेरि वामपन्थी तिरै फर्किएको छ,” महराले भने। उनले जनयुद्धकै कारण देशमा ठूलाठूला परिवर्तनहरू सम्भव भएको भन्दै अझै केही परिवर्तन गर्न बाँकी रहेको बताए। “एउटा पुस्ताले सञ्चालन गरेको जनयुद्धबाट प्राप्त उपलब्धि अर्को पुस्ताले रक्षा गर्नुपर्ने अवस्था आएको छ। त्यसका लागि तपाईं–हामी एकजुट भएर लाग्न जरुरी छ,” महराले भने।
त्यस्तै, उनले जनयुद्धबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न माओवादी विचारधाराका सबै पक्षहरू एक हुन आवश्यक रहेको औंल्याए। पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको बताउँदै ढिलोचाँडो एक ठाउँमा आउने दाबी गरे। पछिल्लो समय देशमा आर्थिक मन्दी र अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्दै गएकाे प्रती गम्भीर चिन्ता व्यक्त गर्दै महराले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै एक भएर लाग्नुपर्ने बताए । अधिवेशन उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, केन्द्रीय सदस्य तथा पूर्व सांसद दामा शर्मा, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष लुमाकान्त न्यौपाने “सागर”, दाङ जिल्ला सह- इन्चार्ज राम बहादुर दहित “अन्जान”लगायत पार्टीका प्रदेश तथा पालिका स्तरीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
गाउँ कमिटीका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा एक दर्जनभन्दा बढी शहीद तथा बेपत्ता परिवारहरूलाई सम्मान गरिएको थियो। गाउँ कमिटीका उपाध्यक्ष रण बहादुर पुजाली “राजेन्द्र” को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त नेपालले गरेका थिए ।

