प्रेस सेन्टर राप्तीले मनायो जनयुद्ध दिवस : जनयुद्धले स्थापित गरेका उपलब्धिहरूको रक्षा गर्नु आवश्यक : पूर्व सभामुख महरा
भालुवाङ १ फागुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै संविधान र समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाद्वारा दाङको भालुबाङमा बिहीबार आयोजित ३० औं जनयुद्ध दिवसको अवसरमा सहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धले स्थापित गरेका उपलब्धिहरूलाई रक्षा गर्दै समाजवाद उन्मुख मार्गमा अघि बढ्नु अबको आवश्यकता रहेको बताएका हुन् । “जनताका अधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउनु पर्छ। शहीदहरूले देखाएको मार्गलाई आत्मसात गर्दै उनीहरूको सपना पूरा गर्न हामी प्रतिबद्ध हुनुपर्छ।”- महराले भने ।
त्यस्तै उनले शहीदहरूको त्याग र बलिदानकै कारण देशले ठूलो परिवर्तनको यात्रा तय गर्न सकेको उल्लेख गर्दै जनयुद्धका मूल्य र मान्यताहरूलाई जीवन्त राख्नु सबैको जिम्मेवारी रहेको बताए । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्यौपाने “सागर”, प्रदेश सदस्य होमप्रसाद शर्मा, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष मानसिंह विक, पार्टीका गाउँ कमिटी अध्यक्ष नारायण शर्मा, विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाका अध्यक्ष तुल बहादुर कवँर मगरकाे सञ्चालनमा भएको उक्त कार्यक्रममा सहभागीहरूप्रति प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष मानसिंह विकले धन्यवाद ज्ञापन गरेका थिए ।

