राप्तीमा विवादित मोटर बाटोको स्थलगत अवलोकन
भालुवाङ ३० माघ। दाङको राप्ती गाउँपालिका–१ शान्तिपुर र अर्घाखाँचीको सितगङ्गा नगरपालिका–८ बेलौते बडीदमार जोड्ने मोटर बाटोको विवाद समाधानका लागि मंगलबार स्थलगत अवलोकन गरिएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतको टोलीले उक्त बाटोको अनुगमन गरेको हो। राप्ती नदीमा पक्की पुल निर्माण भएसँगै केही व्यक्तिहरूको जग्गा बाटोमा पर्ने भन्दै विवाद उत्पन्न हुँदै आएको छ। अनुगमनपछि प्रमुख जिल्ला अधिकारी लम्सालले अन्य वैकल्पिक बाटोको व्यवस्था नभएसम्म हाल सञ्चालनमा रहेको बाटोलाई निरन्तरता दिन आग्रह गरेका छन्।
साथै, उनले बाटो र जग्गाको अवस्थाबारे एकीन गर्न नापीका कर्मचारी खटाइने बताए। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हाल सञ्चालनमा रहेको बाटोका कारण जग्गाधनीहरूलाई मर्का पर्ने अवस्थामा वैकल्पिक बाटो निर्माणका लागि पहल गर्ने बताए। यसअघि पनि जनप्रतिनिधि र स्थानीयवासीहरूको उपस्थितिमा उक्त विषयमा छलफल भएको थियो।
