राप्तीमा सरसफाइ रनिङ शिल्ड सम्बन्धी वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सुरु
भालुवाङ ३० माघ। दाङको राप्ती गाउँपालिकाले सरसफाइ रनिङ शिल्ड सम्बन्धी वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।
पालिकाले बुधबार वडा नम्बर ६ पत्थरगढवामा साे सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे। राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले सरसफाइलाई संस्कार सँग जाेड्नु पर्ने बताए । कुनै पनि व्यक्तिको घर तथा समाजको सफाइले त्यहाँको संस्कार झल्काउने उनको भनाइ रहेको थियो । गाउँघर तथा समाज स्वच्छ राख्ने उद्देश्यले पालिकाले सरसफाइ रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको जानकारी गराउँदै उनले सरसफाइका क्षेत्रमा प्रतिस्पर्धा गराइ उत्कृष्ट हुने वडालाई एक लाख रुपैयाँ बराबरको योजना प्रदान गरिने जानकारी दिए ।
कार्यक्रममा पालिकाका रोजगार शाखा प्रमुख तथा वातावरणविद् मुमाराम भुसालले फोहोरमैला व्यवस्थापन तथा सरसफाइ रनिङ शिल्ड सम्बन्धी प्रस्तुति दिनुका साथै पालिकाले हालसम्म गरेका कार्यहरूको जानकारी गराए। उनका अनुसार अन्तरक्रिया कार्यक्रम पालिकाका ९ वटै वडामा सञ्चालन गरिनेछ। कार्यक्रममा वडाका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, बुद्धिजीवी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले गरेकी थिएन् ।

