राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न
भालुवाङ २५ माघ। दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं (हिउँदे) अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
गाउँसभाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो। गाउँ सभामा विभिन्न समितिका संयोजक तथा सदस्यहरुले विभिन्न प्रस्तावहरु प्रस्तुत गर्नु भएको पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् । प्रवक्ता चाैधरीका अनुसार “गाउँपालिकाकाे चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमकाे संशोधन” प्रस्ताव गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरीले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक विकास समितिका संयाेजक गेमे खड्काले “गाउँपालिकाको आर्थिक ऐन २०८१” को संशोधित प्रस्ताव र सुशासन समितिका संयाेजक देव प्रसाद चाैधरीले “राप्ती गाउँपालिका अन्तर्गतका कार्यालयकाे संगठन संरचना” सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तुत उक्त प्रस्ताव उपर व्यापक छलफल गरि सर्वसम्मत रुपले पारित गरिएको प्रवक्ता चाैधरीले जानकारी दिएका छन् ।त्यस्तै सभामा सभाका सदस्य रिम बहादुर सुनारी मगरले प्रस्तुत गरेको “पालिकाकाे आर्थिक वर्ष २०८०/८१ को वार्षिक सम्पत्ति प्रतिवेदन २०८१” संशोधन सहित सर्वसम्मत रुपले पारित भएको छ। सभाको शून्य समयमा गाउँसभा सदस्यहरुले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए । भने सभाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले उठेका जिज्ञासाहरुको उत्तर दिएका थिए ।
यसैबीच राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकालाई विभिन्न माध्यम बाट सल्लाह सुझाव दिनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । सभा माघ ६ गते सुरु भएको थियो ।
