राष्ट्रपति रनिङ शिल्डमा दोस्रो स्थान हासिल गर्ने सर्वोदय माविद्वारा खेलाडीहरूलाई सम्मान



राष्ट्रपति रनिङ शिल्डमा दोस्रो स्थान हासिल गर्ने सर्वोदय माविद्वारा खेलाडीहरूलाई सम्मान

सिसहनियाँ २३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेको श्री सर्वोदय माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्डका विजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

विद्यालयले आज प्रार्थना समयमा एक समारोहको आयोजना गरि खेलाडीहरूलाई सम्मान गरेको हो । राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सो विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य जितेर दाेस्राे स्थान हासिल गरेको थियो । पालिका स्तरमा दोस्रो भएपछि विद्यालयले खेलाडीहरूको हाैसला तथा मनोबल बढाउन सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताले जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विनोद कुमार गुप्ता खेलकुद संयोजक कृष्णबहादुर बुढा मगर, परिक्षा संयोजक भानु जिसी र शिक्षक प्रतिनिधि यमा आचार्य लगायतका वक्ताहरुले बधाई सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न खेलहरूमा बिजेता भएका खेलाडीहरूलाई सम्मान स्वरूप विद्यालयका अध्यक्ष, प्रधानाध्यापक तथा खेल शिक्षकहरूले सम्मान स्वरूप सम्मानपत्र, मेडल र कापी र नगद प्रदान गरेका थिए । विद्यालयका खेल संयाेजक कृष्णबहादुर बुढा मगर र बसन्त बहादुर केसीले प्रतियोगितामा विद्यालयबाट सहभागी खेलाडीहरूलाई नगद तथा शैक्षिक सामग्री प्रदान गरेका थिए। शिक्षक बुढा मगरले १७ हजार ६ सय रुपैयाँ बराबरको कापी प्रदान गरेका छन् भने शिक्षक केसीले नगद २ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। खेलाडीहरूलाई प्रोत्साहन गर्न आफूहरूले व्यक्तिगत रुपमै सहयोग गरेको उनीहरुकाे भनाई रहेको छ। कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण पाैडेलले गरेका थिए ।

गत माघ १६ गते देखि १८ गते सम्म सञ्चालन भएको प्रतियोगिता अन्तरगत छात्रा तर्फ २ सय मिटर दाैड र ५० केजी करातेमा अप्सना कुमारी चाैधरी प्रथम, छात्र तर्फ ४ सय मिटर दाैडमा असिम चाैधरी प्रथम, छात्रा तर्फ ४ सय मिटर दाैडमा स्मृति चाैधरी दोस्रो, छात्र तर्फ ८ सय मिटर दाैडमा दुर्गा चाैधरी तृतीय, छात्र तर्फ १५ सय मिटर दाैडमा रोशन चाैधरी तृतीय, छात्र तर्फ ३ हजार मिटर दाैडमा रोशन चाैधरी तृतीय, छात्रा तर्फ ३ हजार मिटर दाैडमा रेजिना चाैधरी द्वितीय, छात्रा तर्फ ४×१०० मिटर दाैडमा तृतीय, छात्र तर्फ ४×४०० मिटर दाैडमा द्वितीय, छात्रा तर्फ ४×४०० मिटर दाैडमा द्वितीय, छात्रा तर्फ सटपट थ्रो मा रितु रावल प्रथम, छात्र तर्फ ज्याभलिङ थ्रो मा रेशम रेग्मी द्वितीय, छात्रा तर्फ ज्याभलिङ थ्रो मा रितु रावल प्रथम भएका थिए । त्यस्तै छात्र/छात्रा तर्फको लङजम्पमा रेशम रेग्मी तृतीय र दिपिका चाैधरी प्रथम, छात्रा तर्फको त्रिपलजम्पमा दिपिका चाैधरी प्रथम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे