कानुन नै बनाएर गौशालाको संरक्षण गर्नुपर्छ : सभापति पाठक
भालुवाङ २३ माघ । लुम्बिनी प्रदेशसभा अन्तर्गत कृषि, वन तथा वातावरण समितीका सभापति तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले छाडा पशुचौपाया तथा गौशाला व्यवस्थापनका लागि प्रदेश सरकारले कानुन बनाएर व्यवस्थित गर्नुपर्ने बताएका थिए । दायित्व संस्थाले दाङ—देउखुरीको भालुवाङमा आयोजना गरेको फेलोशिप नीति संवाद अन्तरक्रिया तथा छलफल कार्यक्रम बोल्दै प्रदेशसभा सदस्य तथा समितीका सभापति पाठकले यस्तो बताएका हुन् ।
उनले छाडा पशुचौपायहरुलाई नियन्त्रण गर्न गौशाला सञ्चालन हुन आवश्यक रहेको बताए । सभापति पाठकले गौशालालाई रोजगारी, उत्पादन र आर्थिक दिगोपन संग जोड्न आवश्यक रहेको बताए । उनले समितीले छाडा पशुचौपाया व्यवस्थापन तथा गौशाला सञ्चालनका लागि समितीमा छलफल भइरहेको बेला दायित्व संस्थाले कानुन बनाउनमा थप सहयोग पुर्याएको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।
समितीका सभापति तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकको अध्यक्षतामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा समितीका सदस्य तथा प्रदेशसभा सदस्यहरु दुर्गाप्रसाद चौधरी र भगवती अधिकारी छाडा पशुचौपाया नियन्त्रणका लागि प्रदेश सरकार संगै स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्ने बताएका थिए ।
उहाँहरुले छाडा पशुचौडाले मानिसहरुमा आक्रमण गर्ने गरेको भन्दै नेपालबाट भारत र भारतबाट नेपालमा अबैध रुपमा आयात तथा निर्यात भइरहेको बताउँदै भन्सार नाकामा थप कडाई हुन आवश्यक रहेको बताएका थिए । साथै उनीहरुले किसानहरुको प्रमुख समस्या रासायिनक मल उत्पादन गर्न प्रदेश सरकारले पाउनुपर्ने कानुनी व्यवस्था हुन आवश्यक रहेको समेत बताएका थिए ।
यस्तै बैठकमा प्रदेशसभाका उप–सचिव ईश्वरीप्रसाद आचार्यले गौशाला संरक्षण तथा सञ्चालनका लागि कृषि मन्त्रालयले कार्यक्रम बनाएको र अर्थ मन्त्रालयले गौशाला संञ्चालनका लागि कानुन बनाउन बजेट समेत विनियोजन गरेको बताउँदै एक पटक कृषि र पर्यटन मन्त्रालयलाई एकै ठाउँमा राखेर छलफल चलाउन आवश्यक रहेको बताए । उनले गौशाला सञ्चालनको बिषय सरकारले स्पष्ट रुपमा कार्यक्षेत्र विभाजन गर्न आवश्यक रहेको समेत बताए ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा समितीका सदस्य तथा प्रदेशसभा सदस्यहरु मालती साडारी, मिना बुढामगर, सन्जुकुमारी चौधरी, शान्ति लोध, प्रदेशसभाका सचिव दुलर्भकुमार पुन र समितीका सचिव तथा कानुन अधिकृत राधा रोका लगायतको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा समितिका कर्मचारी, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।
नीति संवाद अन्तरक्रियामा दायित्व संस्थाका अनुसन्धानकर्ता फलो सोनिया बस्याल सामुदायिक चौपाया व्यवस्थापन तथा गौशालाको आर्थिक दिगोपना सम्बन्धी प्रस्तुतिकरण गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन संस्थाका संयोजक रक्षा सिलवालले गरेका थिए भने दायित्व संस्थाका फिल्ड संयोजक कमलसिंह थारूले धन्यवाद ज्ञापन गरेका थिए ।