धुम्रपान, मद्यपान, खानपिन र जीवनशैलीमा सुधार गरे क्यान्सरबाट बच्न सकिन्छ



धुम्रपान, मद्यपान, खानपिन र जीवनशैलीमा सुधार गरे क्यान्सरबाट बच्न सकिन्छ

भालुवाङ २२ माघ । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सर विरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै क्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले सचेतनामुलक कार्यक्रम गरी दिवस मनाएको छ ।

हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व व्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । “पृथकतामा एकता ः क्यान्सर भोगाईका कथाहरू“ मुख्य आदर्श वाक्य सहित मंगलबार राप्ती गाउँपालिका–२, लालमटियामा दिवस मनाइएको हो । वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुले क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि भउको बताएका छन् । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभर नै यो रोग फैलिने र उपचार जटिल हुने जोखिम हुन्छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने र प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरूको भनाई छ ।

नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताइएको छ । क्यान्सर थाहा पाउने बित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने चिकित्सकहरको भनाई छ । क्यान्सरका चार चरण मध्ये शून्य देखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ । जाँडरक्सी र सुर्तीजन्य पदार्थको सेवन, खानपीन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगत लगायत क्यान्सरका मुख्य कारण हुन् । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा हरेक वर्ष २० हजार भन्दा धेरै क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । नेपालमा पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्यान्सर जस्ता गम्भीर रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले तीनै तहका सरकार, स्वास्थ्य संस्था तथा स्थानीय समुदायको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए “स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण र समयमै रोगको पहिचान हुन सके क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ,“ अध्यक्ष विष्टले बताए । कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, क्यान्सर पीडित तथा उनीहरूका परिवारको उपस्थिति रहेको थियो। स्वास्थ्य विशेषज्ञहरूले क्यान्सरको रोकथाम, पहिचान र उपचारबारे जानकारी गराउनु भएको थियोे । सरकारले विपन्न नागरिक औषधी उपचार कोषबाट क्यान्सर पीडितका लागि एक लाख रुपैयाँ सम्मको औषधी उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले थप २ लाख रुपैयाँ सम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे