राप्तीका शिक्षकहरू संगीत तालिम सिक्दै

भालुवाङ १६ माघ । दाङको राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई बुधबारदेखि एक हप्ते संगीत तालिम दिन सुरू गरेको छ।
विद्यालयको शिक्षण सिकाइ सुधार गर्दै विद्यार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले पालिकाले साे तालिम सञ्चालन गरेको हो। धार्मिक विद्यालय बाहेक पालिकाका २७ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकलाई विदाको दिन पारेर तालिम दिन सुरु गरेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिएका छन् । उनका अनुसार शिक्षकहरूलाई मादल, गितार र हार्माेनियमजस्ता संगीत उपकरणहरू प्रयोग गरी विद्यार्थीलाई सिकाइमा आकर्षित गर्ने तरिका सिकाइँदै छ। तालिमका प्रशिक्षक बेदुलाल सुवेदीका अनुसार शिक्षकहरूलाई संगीतलाई शिक्षणमा प्रभावकारी रूपमा प्रयोग गर्ने आधारभूत ज्ञान र सीप प्रदान गरिएको छ।
उनका अनुसार, “संगीतले सिकाइलाई सरल, रोचक र प्रभावकारी बनाउने भएकाले शिक्षकहरूलाई यसको प्रयोगात्मक ज्ञान दिइएको हो।”राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षणलाई प्रभावकारी बनाउन नवीन विधिहरू अपनाउनु आवश्यक रहेको बताए ।“संगीत शिक्षा केवल कला मात्र होइन, यो शिक्षणलाई प्रभावकारी बनाउने नवीन विधि पनि हो। विद्यार्थीलाई रमाइलो वातावरणमा सिक्न प्रेरित गर्न शिक्षकहरूलाई संगीतको आधारभूत ज्ञान दिइरहेका छौं।”,- अध्यक्ष विष्टले भने । नयाँ सिकाइ शैली प्रयोग गर्न पाउँदा सहभागी शिक्षकहरू समेत खुसी छन्।