लमही महोत्सवमा माटोको भाडा देखि बधिया भाले सम्म दर्शकको रोजाई बन्दै  



लमही महोत्सवमा माटोको भाडा देखि बधिया भाले सम्म दर्शकको रोजाई बन्दै  

लमही १८ माघ । दाङको लमहीमा सञ्चालित सातौं देउखुरी कृषि, पर्यटन तथा ब्यापारिक महोत्सवमा स्थानीय उत्पादनका वस्तु तथा हस्तकलाका सामाग्रीले दर्शकलाई आकर्षित बनाएको छ ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले सञ्चालन गरेको महोत्सवमा माटोको भाडा देखि बधिया भाले सम्म दर्शकका लागि मुख्य आकर्षित बनेको छ । गढवा गाउँपालिका-३ खैरा निवासी राजकुमारी थारू कुमालले आफ्नो सिप देखाउन र बनाएका भाँडा बिक्री गर्न महोत्सवमा राख्नु भएको छ । कुनै समय आम्दानीको राम्रो स्रोत थियो । माटोकै भाँडामा भात, तरकारी पाक्थ्यो । पानी राख्ने घैंटा त्यही थियो । भुर्की पनि माटोकै थियो । तर स्टिल र प्लास्टिकका भाँडा भित्रिएपछि माटोको भाँडा ओझेलमा परे । मान्छेको रोजाइ फेरिदै गयो । माटोको भाँडाको आकर्षण घट्दै गएपछि राजकुमारीलाई पनि समस्या भयो । तर अहिले राजकुमारी पुख्र्याैली सिप र पेशालाई संरक्षण गर्ने अभियानमा जुट्नुभएको छ । ‘अहिले माटोको भाँडा बिक्री गर्न मेला महोत्सवमा पुग्न थालेका छौं । माटोको भाँडा स्टलमै राखेर देखाउने पनि गरेको छु’– उहाँले भन्नुभयो– ‘नानीबाबुहरुले चासो दिएर हेर्नुहुन्छ, खुशी लाग्छ ।’ देउखुरीको पहिचान यहाँको माटोको भाँडासँग जोडिएको छ । कुमाल समुदायसँग जोडिएको पहिचानलाई संरक्षण गर्न  महोत्सवले अवसर प्रदान गरेको हो ।

दाङ देउखुरीको पहिचान बदिया भाले सँग पनि जोडिएको छ । मासुका पारखीहरुले बदिया भालेलाई रोजाइमा पार्ने गरेका छन् । थारु समुदायमा परम्परागतरुपमा भालेलाई बदिया बनाउने चलन छ । अहिले व्यावसायिकरुपमा बदिया पालन गर्नेक्रम पनि शुरु भएको छ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले व्यावसायिक रुपमा बदिया भाले पाल्दै आउनुभएको छ । महोत्सवमा बदिया भालेको स्टल समेत राखिएको छ । जहाँ महोत्सव हेर्न आउने पर्यटकहरुले बदिया भाले देख्न मात्रै होइन, किन्न समेत पाउने व्यवस्था मिलाइएको छ । यस्तै महोत्सवमा १ क्वीइटल बढीको बोका समेत प्रदर्शनीमा राखिएको छ । भने मार्सी चामल, स्वास्थ्यका लागि रातो च्याउ समेत प्रदर्शनीमा राखिएको छ ।  देउखुरी तरकारी उत्पादनको दृष्टिकोणले उर्वर भूमि हो । यहाँ दैनिक भान्सामा चाहिने तरकारीहरु फल्ने गर्छ । फूलगोभी, टमाटर, आलु, मुला, साग, भिन्डी, करेला, बोडी लगायतका तरकारी सहजरुपमा किसानले फलाउँदै आएका छन् । कुनै समय परम्परागतरुपमा खानको लागि मात्रै खेती गर्ने किसानले अहिले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । किसानले फलाएका तरकारी प्रदर्शनीमा राखिएको छ ।

गढवा–७ निवासी किसान सुमन चौधरीले फलाएको स्थानीय जातको १३ किलोको फर्सी समेत प्रदर्शनीमा राखिएको छ । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनामा आबद्ध किसानले फलाएका तरकारी तथा खसीबोका समेत प्रदर्शनीमा राखिएको परियोजनाका संयोजक बसन्तकुमार शर्माले बताउनुभयो । ‘कृषि र पशुवस्तु महोत्सवसम्म ल्याइपु¥याउँदा किसानमा छुट्टै खुशी र उमंग छ’– उहाँले भन्नुभयो– ‘किसानहरुमा उत्प्रेरणा थप्ने काम भएको छ ।’ व्यावसायिकरुपमा थालिएको रातो च्याउको पनि छुट्टै स्टल राखिएको छ भने स्थानीय महिला उद्यमीहरुले तयार पारेको च्याउ, दुनाटपरी समेत स्टलमा राखिएको छ । यति मात्र होइन, हिमाली क्षेत्रमा पाइने खाद्यान्न तथा गेडागुडी पनि स्टलमा राखिएको छ । पुष्पखेतीमा पनि किसानको संलग्नता बढ्दै गएको छ । त्यसलाई पनि स्टलसम्म पु¥याइएको छ भने हस्तकलाको सामग्री, अचार पनि बिक्री वितरणमा राखिएको छ । ‘स्थानीय उत्पादनको प्रबद्र्धन गर्न महोत्सवले अवसर प्रदान गरेको छ । यसले देउखुरीको पहिचानलाई बाहिर ल्याउन टेवा पु¥याउनेछ’– देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले भन्नुभयो– ‘यहाँको कला, संस्कृति, उत्पदानलाई बजारसँग जोड्नका लागि महोत्सव आयोजना गरिएको हो ।’

कृषि तथा पशुवस्तुको बजारीकरणका लागि ५० वटा स्टल निःशुल्क उपलब्ध गराइएको देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव घिमिरेले बताउनुभयो । ‘यहाँको उत्पादनलाई बजारसम्म पु¥याउन स्टल निःशुल्क गरेका हौं’– घिमिरेले भन्नुभयो– ‘विगतका महोत्सव भन्दा यसपालिको महोत्सव फरक छ, स्थानीय उत्पादनलाई प्रशस्त स्थान दिएका छौं ।’ स्थानीय कलासंस्कृतिको समेत प्रदर्शनी र प्रतिस्पर्धा गराइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे