सरस्वती माध्यमिक विद्यालय बाङ्गेसाल प्यूठानको ४३ औँ बार्षिक उत्सव सम्पन्न
भालुवाङ १५ माघ । प्यूठानको सरस्वती माध्यमिक विद्यालय सरूमारानी गाउँपालिका–१, बाँङ्गेसालको ४३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस आज मंगलबार विद्यालय परिसर बाङ्गेसाल प्यूठानमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दधिराम भण्डारीको अध्यक्षता एवम् संविधानसभा सदस्य धनबहादुर राइमाझीको प्रमुख आतिथ्यता तथा सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
बार्षिक उत्सवको उद्धाटन गर्दै संविधानसभा सदस्य राइमाझीले शिक्षालाई सिप र उत्पादन संग जोड्नुपर्ने बताए । उनले पढाईलेखाई संगै सबै अभिभावकहरुले आफ्ना छोराछोरीलाई घरमा कृषि पेसामा जोड्न सके मात्र सिप संग शिक्षाको तुलना हुने बताए । उनले अब शिक्षा कृषि उत्पादन, उद्यमशिलता र सिप संग जोड्न सबैपक्ष जिम्मेवार हुन आग्रह गरे। संविधानसभा सदस्य राइमाझीले पछिल्लो समयमा बच्चाहरुमा संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले संस्कार र पहिचान बिना शिक्षाको कुनै अर्थ नरहने तर्क गर्नुभयो । उहाँले समयअनुकुल शिक्षा परिमार्जन आवश्यक रहेको समेत बताए ।
त्यस्तै बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काले विद्यार्थीहरुलाई शिक्षा संगै स्थानीय उत्पादन र सिप जोड्न आग्रह गरिन् । उनले विद्यार्थीहरु पढेर बिदेश नभई स्वदेशी माटोमा रमाउन सक्नुपर्ने बताइन् । उनले बैदेशिक यात्रा पछिल्लो समय जोखिम बन्दै गइरहेको उदाहरण दिंदै आफ्नै देशमा रोजगार र सिप संग जोडिन आग्रह गरिन् ।
यस्तै कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अब शिक्षा सिप, प्रविधिमैत्री र संस्कार सहितको हुनुपर्ने बताएका थिए । उनीहरुले शिक्षालाई अहिलेको प्रबिधि संग जोड्दै सिप र संस्कार सिकाउन जरुरी रहेको बताएका थिए । कार्यक्रममा सितगंगा नगरपालिका वार्ड नम्बर ८ का वडाध्यक्ष देविराम घिमिरे,सोही विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्णबहादुर राईमाझी, सत्य मावि ददेरीका प्रधानध्यापक नारायण पौडेल, प्रागिक व्यक्तित्व भोजबिक्रम बुढा, अक्षयकोषदाता जमिर शाह, अभिभावक जगबहादुर आले र देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधानसम्पादक सन्तोषकुमार गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सोही विद्यालयमा अध्यापनरत ६ जना उत्कृष्ट शिक्षक सहित विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने उत्कृष्ट शिक्षकहरुमा माबि तर्फ टोपाराम पोख्रेल, कृषि प्राबिधिक तर्फ सुमन पाण्डे, निमाबि तर्फ शरद गिरी तथा प्राबि तर्फ महेशकुमार रायमाझी, बोधराज अधिकारी र सीता कुमाल रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मान—पत्र सहित सम्मान गरिएको थियो ।
यस्तै विद्यार्थी सम्मान तर्फ उत्कृष्ट समाचार बाचक तर्फ कक्षा ८ की कबिता केसी, अतिरिक्त कृयाकलापमा धेरै सहभागिता जनाए बाफत कक्षा ८ की काब्या ज्ञवाली, अनुशासन तर्फ गगन बिष्ट, राशी घर्ती, टेक बहादुर पुन र जुना धामी सम्मानित भएका छन् । यस्तै बार्षिक उत्सव समारोह मै अनुशासित, महेन्ती, लगनशिल बिद्यार्थीहरुलाई विभिन्न अक्षयकोषबाट पुरुस्कृत गरेको छ ।
यसरी पुरुस्कृत हुनेहरुमा भुरेअ अक्षयकोस कक्षा ८ मा पालिका प्रथम सृजना मल्ल, कक्षा १० का पालिका प्रथम मनसिज घिमिरे रहेका छन् । यस्तै हाजी अक्षय कोषबाट कक्षा ५ का छात्रा सिमरन थापा, छात्र गगन राना, मुस्लिम समुदायबाट छात्रा जास्मिन खातुन, कक्षा १२ बाट छात्र सुन्दर थापा, छात्रा सुधा थापा, मुस्लिमबाट रुबिया खातुन र अभिभावक तर्फ पार्बता बिकलाई समेत पुरुस्कृत गरिएको छ ।
विद्यालयका सहायक प्रधानध्यापक शान्तराज बिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक भक्तबहादुर मर्साङ्गीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले सन्देशमूलक नाटक र स्थानीय कला संस्कृति झल्किने सांस्कृतिक प्रस्तुत समेत देखाएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक ऋणिराम आचार्यले गरेका थिए ।
वि.सं २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार १ सय ७४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जसमा ५ सय ४३ छात्र र ६ सय ३१ छात्रा रहेका छन् । हाल उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको छ । यस्तै कक्षा नर्सरी देखि ७ कक्षा सम्म र ९ र १० कक्षा सम्म अँग्रेजी मिडिममा र कक्षा ९ देखि १२ सम्म प्राबिधिक धारमा समेत पठनपाठन भइरहेको विद्यालयले जनाएको छ । हाल विद्यालयमा प्रधानध्यापक र कार्यालय सहयोगी सहित ४८ जना शिक्षकशिक्षिकाहरु रहेका छन् ।