देउखुरीका विभिन्न स्थानबाट बरामद गरिएको ८ क्वीइन्टल बढी अखाद्य मह नष्ट



देउखुरीका विभिन्न स्थानबाट बरामद गरिएको ८ क्वीइन्टल बढी अखाद्य मह नष्ट

भालुवाङ ९ माघ । दाङ देउखुरीका विभिन्न स्थानबाट बरामद गरिएको ८ क्विन्टल ७० किलोग्राम अखाद्य मह नष्ट गरिएको छ।

उक्त महको बजार मूल्य करिब ४ लाख ३५ हजार रहेको जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत मानबहादुर बुढा मगरले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय भालुवाङ र वडा प्रहरी कार्यालय लमहीले गस्तीको क्रममा बेवारिसे अवस्थामा फेला परेको मह खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर मार्फत नमूना जाँचका लागि नेपालगन्ज पठाएको थियो। नमूना परीक्षणपछि महमा नेपाल सरकारले तोकेको मापदण्ड विपरीत अखाद्य वस्तु मिसावट गरिएको पुष्टि भएपछि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीले बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले लेबलिङ नगरिएका र घुमन्ते व्यापारीले बिक्रीवितरण गर्ने मह प्रति विश्वास नगर्न उपभोक्ताहरूलाई सुझाव दिँदै अखाद्य वस्तु बिक्रीविरुद्ध कडा निगरानी गरिने जानकारी दिए। महलाई स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रतिनिधि र पत्रकारहरूको रोहबरमा नष्ट गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे