किसानहरूको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
दाङ ८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताएका छन् ।
गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरूको जीवनस्तर उकास्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेकाे बताएका हुन् ।`प्रदेश सरकार किसानहरुकाे साथमा छ । उत्पादनमा जाेडिन जरुरी छ । यसमा प्रदेश सरकारले साझेदारी कार्यक्रम बनाउछ´उनले भने-`मेहनत गर्ने किसानकाे पक्षमा सरकार छ । ढुक्क भएर उत्पादनमा लाग्नुस ।´
गढवा गाउँपालिकाले गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरेकाे छ । यहि परियाेजना अन्तर्गत १०३ किसानले बाख्राको पहिलो पुस्ता उपहार गरेका हुन । प्रदेश सरकारले आगामी वर्ष धेरै पालिकासँग साझेदारी गरेर किसानहरूको जीवनस्तर उकास्न कार्यक्रम अघि बढाउने जानकारी समेत दिए। उद्यमी महिलाहरूलाई पनि उत्पादन प्रक्रियामा समावेश गराई आत्मनिर्भर बनाउन सरकारले विशेष प्रयास गरिरहेको उनले उल्लेख गरे।
उत्पादन भएका कृषिजन्य उपजको बजारीकरण गर्न संकलन केन्द्रहरू उपयोगी हुने र आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमहरू महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ। उहाँले थप स्पष्ट पार्दै भने,`भोकालाई एक छाक भोजन हैन, जीउने जुक्ति सिकाउनुपर्छ । याे महान उदेश्यलाई पूरा गर्न सबैले ध्यान दिनुपर्ने छ ।´ गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पाेख्रेलकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चाैधरी, वडा नम्बर १ का वडा अध्यक्ष बावुराम अधिकारी, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य लगायतले सम्बाेधन गर्दै किसानहरूलाई आत्मनिर्भर बनाउन र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
गढवा सामाजिक उद्यमि महिला सहकारी संस्थाका अध्यक्ष शोभा रावतकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण कार्यक्रम संयाेजक बसन्तकुमार शर्माले गरेका थिए ।