सभामुखद्वारा मौलिक सांस्कृतिक पहिचानलाई संरक्षण गर्न अपिल
देउखुरी १ माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई हस्तान्तरण, प्रबर्द्धन र संरक्षण गर्न अपिल गरेका छन्।
विभिन्न जातीय विशेषता बोकेको चाड पर्वको मौलिक पहिचान कायम राख्न र संस्कृतिको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको जनाउनु हुँदै उहाँले यस्तो अपिल गरेका हुन् । “राज्यले सबै समुदायका भाषा, संस्कृतिको नीतिगत प्रवद्र्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने मुख्यतः जिम्मेवारी सम्वन्धीत समुदायकै हो ।” तराईका आदिवासी थारु समुदाय र पहाडका आदिवासी मगर समुदायको राष्ट्रिय पर्व माघी/माघे सकराती (मकर संक्रान्ति)को अवसरमा आज बिहान सभामुख घर्ती मगरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ -” नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई हस्तान्तरण प्रवद्र्धन र संरक्षण गर्न समेत म अपिल समेत गर्दछु ।” भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने यो पर्व नेपाली मौलिक विशेषताको पर्व रहेको उहाँले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त मुलुकमा यस प्रकारको पर्वको आफ्नै महत्व रहेको छ ।” शुभकामना सन्देशमा उल्लेख छ -यो पर्व प्रकृतिप्रेमी र प्रकृति पुजक समुदायको मुख्य पर्व मानिन्छ ।” नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मूख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका यी चाडपर्वहरुले उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न भूमिका खेल्दै आएका छन् । लुम्विनी प्रदेश सभा विभिन्न भेष–भूषा, धर्म, संस्कृति, रहन–सहन, रिति–रिवाजलाई अंगिकार गर्ने सबै समुदायको हक अधिकारलाई स्थापित गर्दै सामाजिक न्यायको शिद्धान्तमा आधारित भई कानुन तथा नीति निर्माण र कार्यान्वय गरिरहेको सभामुख घर्ती मगरले जनाएका छन् । प्रदेश सरकारले यो पर्वको महत्ववोध गरी दुई दिन सम्म सार्वजनिक बिदा दिएको छ । उनले आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक हिसावले पछाडी पारिएका समुदाय, क्षेत्र, लिङ्ग, वर्गको उत्थान गर्दै समतामुलक सम्मुनत समाज निर्माणमा नीतिगत रुपमा पहल कदमी लिएको र लिईरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। यस पर्वले राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै प्रकृतिप्रेमी सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता कायम गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।