सिसहनियाँ महोत्सवको सम्पुर्ण तयारी पुरा : महोत्सवको उद्घाटन मन्त्री न्यौपानेले गर्ने



सिसहनियाँ महोत्सवको सम्पुर्ण तयारी पुरा : महोत्सवको उद्घाटन मन्त्री न्यौपानेले गर्ने

सिसहनियाँ २४ पुस । दाङको राप्ती गाउँपालिका–५ कालापानी सिसहनियाँमा आज देखि सञ्चालन हुन लागेको दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।

सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभुत अस्पतालको पुर्वी भागमा सञ्चालन गर्न लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् । अध्यक्ष बुढाथोकीका अनुसार स्वागत गेट देखि स्टल निमार्ण, मञ्च निमार्ण, बाल उद्यान, चर्खे पिङ बनाउने, पत्रचार तथा प्रचारप्रसार लगायत सम्पुर्ण तयारी पुरा भइसकेको संघका अध्यक्ष बुढाथोकीले बताएका छन् । आज विहान ११ बजे हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले बताएका छन् ।

यसै बीच महोत्सवमा माघ ३ देखि ५ गते राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट वा वडा नम्बर ५ करङ्गेकोटबाट प्याराग्लाइडिङ उडाएर महोत्सव स्थल सम्म ल्याण्डिङ गराउने गरी तयारी भएको संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले बताएका छन् । प्याराग्लाइडिङले दर्शकहरुलाई थप आकर्षित गर्ने र पर्यटकीय क्षेत्रको अवलोकन तथा मनोरञ्जनमा थप मद्दत पुग्ने अपेक्षा लगिएको छ ।  महोत्सवबाट २ करोड बराबरको कारोवार गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

महोत्सवमा १५० बढी स्टल रहेको छ र त्यस मध्ये १२ वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहेको छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे