सफा स्वच्छ पालिका बनाउन राप्तीमा सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने



सफा स्वच्छ पालिका बनाउन राप्तीमा सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने

भालुवाङ २४ पुस । दाङको राप्ती गाउँपालिकाले सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ। बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा पालिकाले उक्त प्रतियोगिता सम्बन्धी जानकारी गराएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वच्छ तथा सरसफाइ युक्त पालिका बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले हरेक क्रियाकलापमा प्रतिस्पर्धा आवश्यक भएको र सरसफाइमा टोलटोल र वडा वडा बीच प्रतिस्पर्धा भए पालिकालाई सफा र स्वच्छ बनाउन सकिने बताए । पालिकाले सरसफाइ सम्बन्धी १२ वटा सूचक तथा मापदण्ड बनाएर मूल्यांकन गर्ने जनाएको छ। यो प्रतियोगिता वार्षिक रुपमा वडा र टोल स्तरमा छुट्टाछुट्टै सञ्चालन गरिने खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले जानकारी दिए ।

शाखा प्रमुख चौधरीका अनुसार वडा स्तरको प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने वडाहरूलाई क्रमशः १ लाख र ५० हजार रुपैयाँ बराबरको योजना प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट टोल विकास संस्थालाई २० हजार रुपैयाँ बराबरको सरसफाइ सामग्री प्रदान गरिनेछ । कार्यक्रममा पालिकाका उपाध्यक्ष कमलापती चौधरी, वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि,विद्यालय प्रधानाध्यापक तथा संघ संस्थाका प्रमुखहरू सहभागीता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले सरसफाइ तथा रनिङ्ग शिल्ड प्रतियोगिता सम्बन्धी विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रममा रोजगार शाखा प्रमुख तथा वातावरणविद् मुमाराम भुसालले फोहोरमैला व्यवस्थापन तथा सरसफाइ रनिङ्ग शिल्ड सम्बन्धी प्रस्तुति दिनुका साथै पालिकाले सरसफाइको क्षेत्रमा हालसम्म गरेका कार्यहरूको जानकारी गराएका थिए । त्यस्तै साझेदारी संस्था इको फेमली प्राइभेट लिमिटेड हेटौंडाका सञ्चालक रुपेश राज कुँवरले फोहोर र त्यसको व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे