सीप र प्रबिधियुक्त जनशक्ति उत्पादन गर्ने दायित्व हामी सबैको हो : स्वास्थ्य मन्त्री सारु



सीप र प्रबिधियुक्त जनशक्ति उत्पादन गर्ने दायित्व हामी सबैको हो : स्वास्थ्य मन्त्री सारु

देउखुरी १९ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अब नेपालमा सीप र प्रबिधियुक्त जनशक्ति उत्पादन तर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताएका छन् । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या व्यवस्थापन महाशाखाले आज शुक्रबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको जनसंख्या र विकास बीच पारस्परिक अन्तर सम्बन्ध बारे नीति निर्मता तथा सरोकारवालाहरू संग प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य मन्त्री सारुले दक्ष जनशक्ति उत्पादन बिना मुलुक समृद्धि हुन नसक्ने भन्दै यस तर्फ प्रदेश सरकार संगै संघ र स्थानीय सरकार पनि गम्भीर बन्न आवश्यक रहेको बताए । उनले दक्ष जनशक्ति नभए कै कारण जनसंख्यिक सन्तुलनमा असर भईरहेको बताए । उनले पछिल्लो समय तीब्र बसाईसराई संगै बैदेशिक रोजगारीले समेत जनसंख्या व्यवस्थापन असन्तुलन भएको बताए ।

मन्त्री सारुले अब सीप र प्रबिधि सहितको जनशक्ति उत्पादनका लागि शैक्षिक प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । उनले गुणस्तरिय तथा सिपमूलक शिक्षाले मात्र जनसंख्या व्यवस्थापनमा सहयोग पुग्ने समेत बताए । उनले त्यसका लागि निति परिमार्जन देखि कर्मचारीहरु थप जागरुक हुन आवश्यक रहेको बताए ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख ढुण्डीप्रसाद निरौलाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले जनसंख्या असुन्तलन कै कारण विकास निर्माणमा प्रभाब परेको बताए । उनले अहिले पहाडी जिल्लामा जनसंख्या एकदमै कम रहेको र तराईंमा औसत भन्दा बढी जनसंख्या हुँदा विकास निर्माण लगायतका काम समेत प्रत्यक्ष रुपमा असर पुर्‍याएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख तथा सह—सचिव ढुण्डीप्रसाद निरौलाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने अधिकांश सहभागी बक्ताहरुले जनसंख्या सन्तुलन कायम गर्न सरकारको निति समयानुकुल परिमार्जन गरिनुपर्ने, दक्ष जनशक्ति स्वदेश मै उचित व्यवस्थापन गर्नुपर्ने, अनैतिक गर्भपतन बन्द गरिनुपर्ने, शिक्षा प्रणाली सुधार गरी सिप तथा प्रविधिमैत्री बनाउनुपर्ने, जेलमा रहेका युवा शक्तिलाई उत्पादन, विकास, सिप र प्रबिधि संग जोड्नु पर्ने लगायतका सुझाबहरु दिएका थिए । सो अवसरमा नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापा सहित अन्य सहभागीहरुले समेत सुझाब दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख तथा उप—सचिव झबिन्द्रप्रसाद पाण्डेले वर्तमान अवस्थामा देशको जनसंख्या स्थिति तथा तथ्याङ्क बिश्लेषण सहितको प्रस्तुतिकरण गरेका थिए । यस्तै लुम्बिनी प्रदेश समन्वय कार्यालयका प्रमुख तथा समन्वय अधिकारी पोमनारायण पौडेलले लुम्बिनी प्रदेशको जनसंख्याको समग्र अवस्था लगायतको बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

यस्तै जनसंख्या व्यवस्थापन महाशाखाका पूर्व सचिव प्रतापकुमार पाठकले परिमार्जित राष्ट्रिय नितिको समन्धमा आवश्यक सवालहरु लगायतका बिषयमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, जिल्ला समन्वय समितीका प्रमुख, गाउँपालिका प्रमुख, क्याम्पस प्रतिनिधि, नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे