सरस्वती आधारभुत विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण
सिसहनियाँ १९ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा रहेको सरस्वती आधारभुत विद्यालयका अति विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
राप्ती गाउँपालिकाको सहकार्यमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरेको हो । जाडो मौसमका समयमा न्यानो लुगा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक उपलब्धिको स्तरलाई उकास्न समस्या भएकाले गाउँपालिकाको सहकार्यमा सिपी नेपालले बाल विकास देखि कक्षा ५ का ७३ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा कक्षा ६ देखि ८ सम्मका ६५ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जोला प्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक तिलक शर्माले गरेका थिए ।